शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सूर्य विनायक नगरपालिका वडा नं. ३ मा सार्वजनिक सुनुवाइ सम्पन्न


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • 112
    SHARES

भक्तपुर-  सूर्य विनायक नगरपालिका वडा नं. ३ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

 

 

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूर्य विनायक नगरपालिकाको सहयोगमा आज वडा कार्यालयमा सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाले चालु आर्थिक वर्षभित्रमा गरेका पूर्वाधारको विकास, प्रशासनिक सेवा प्रवाह, सामाजिक कार्यलगायतका विषयहरूलाई समेटेर जनताका गुनासा, प्रश्न र सुझावहरूलाई समेट्दै सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । सुनुवाइमा विकासको आयाम, सुशासन तथा सामाजिक कार्य र सेवा प्रवाहबारे विस्तृतमा प्रस्तुत गरियो ।

कार्यक्रममा वडा सचिव शेषराज दाहालले वडामा चालु आर्थिक वर्षमा ३० वटा आयोजनाहरू रहेका्े उल्लेख गर्दै अधिकांश निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो । ३२६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी गराउँदै उहाँले चालु आवमा वडामा विभिन्न शीर्षकमा ८१ लाख ९८ हजार सात सय ४३ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । उहाँले कतिपय योजनाहरू महँगीका कारण समस्या उत्पन्न भएको समेत बताउनुभयो ।

सुनुवाइमा सहभागीहरूले तुवाचो गणेश मन्दिरको पुनर्निर्माण, कतै आउने कतै नआउने खानेपानीको समस्या समाधान गर्नुपर्ने, सडक बत्ती राख्नुपर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, क्रियापुत्री भवन बनाउनुपर्ने, गणेश प्राविको शैक्षिक गुणस्तर विकास गर्नुपर्ने, ढलको व्यवस्थापन गर्नुपर्ने, वडाका कार्यक्रममा जनतालाई जोड्नुपर्ने, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता, एकल महिला लगायतलाई उचित सेवा तथा बजेट व्यवस्थापन गर्नुपर्ने, आवश्यक ठाउँहरूमा सिसी क्यामेरा जोड्नुपर्ने, जीवन सरस्वती प्रयोगशाला (योगा)को लागि भवनको व्यवस्थापन गर्नुपर्ने लगायतका माग, सुझाव तथा प्रश्नहरू गरिएको थियो ।

जवाफमा बालकोट प्रहरी प्रभागका प्रमुख पदम बहादुर बलारेले अपराध न्यूनीकरण गर्न सार्वजनिक स्थानहरूमा सिसी क्यामेरा थप गर्नुपर्नेमा जोड दिनुभयो दिँदै बिग्रिएकोलाई मर्मत गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै स्वास्थ्य चौकी बालकोटका प्रमुख सुशील घिमिरेले ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारका कार्यहरू गरिरहेको भएता पनि सीमित स्रोतका कारण अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो । स्वास्थ्य चौकीले सुगर तथा प्रेसर रोगका बिरामीलाई निःशुल्क औषधी तथा उपचारको व्यवस्था भएको जानकारी गराउँदै उहाँले समय समयमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो । त्यस्तै गर्भवती महिलाको लागि महिनामा एक पटक अल्ट्रासाउन्डसहितको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणको लागि थप औषधी तथा बजेट आवश्यकता रहेको औँल्याउनुभयो ।

बालकोट खानेपानीका सचिव हरिचन्द्र अधिकारीले केयुकेएल र नगरपालिकाको सम्झौता अनुसार अहिले केही मात्रामा भए पनि राहत भएको बताउनुभयो । नयाँ व्यवस्थापन गर्न पाइपलाइन विस्तार गर्न समस्या रहेको औँल्याउँदै उहाँले सरकारले उपत्यका खानेपानीको प्रमुख कार्यकारी निर्देशकलाई हटाएका कारण लथालिङ्ग भएको गुनासो गर्नुभयो । अहिले भएको पानीलाई समान रूपले वितरण गरिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

कार्यपालिका सदस्य हेमा दाहालले महिला, बालबालिका, अपाङ्गता, एकल महिला, दलित लगायतका लक्षित कार्यक्रमहरू जनताको माग अनुसार नै भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताको माग अनुसार भौतिक विकास मात्र होइन, लक्षित कार्यक्रम अन्तरगत जीविकोपार्जनको लागि सिलाई बुनाई, झोल साबुन बनाउने, धूप, व्युटिपार्लर, कृषिलगायतका धरै तालीमहरू व्यवस्थापन गरेका छौँ । त्यति मात्र होइन, व्यवसाय बजेट अभाव भए वडाले सहयोग समेत गर्नेछ ।’

जवाफमा वडाध्यक्ष दीपेन्द्र केसीले योजना धेरै भन्दा पनि बजेट बढाउन आवश्यक रहेको बताउनुभयो । गणेश मन्दिरको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउँदै उहाँले गणेश आधारभूत प्राविलाई गुणस्तर बनाउन आवश्यक भवन निर्माणको योजना रहेको सुनाउनुभयो । एक वर्षमा दुई करोड ६० लाख बजेट वडामा आउने उल्लेख गर्दै उहाँले उपभोक्ता समितिमा विवाद हुने भएकाले सबै योजनाको लागि सबै टेन्डर प्रक्रियामा अगाडी बढाउने योजना रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वडा नं. ३ र ४ को सीमानाकामा सार्वजनिक भवन बनाउन पहल भइरहेको छ । वडामा आफ्नै खानेपानीको स्रोत नभएकाले वडावासीलाई खानेपानीको समस्या समाधान गर्न केयुकेएलसँग सहकार्य भइरहेको छ । अब तत्काल समस्या समाधान हुन्छ । त्यस्तै वडाका सम्पूर्ण टोल टोलमा समानुपातिक तरिका तथा आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ । तसर्थ: हामीले प्रचार होइन, काम गरेर देखाएका छौँ ।’

ढल निर्माण गर्न स्थानीय साझेदारी अनुसार ६०–४० अनुसार गर्न आग्रह गर्दै उहाँले ढलका समस्या समाधान गर्न प्रयास भइरहेको जानकारी गराउनुभयो । कार्यक्रमहरूको बारेमा वडाको सूचना पाटीमा सूचना उपलब्ध हुने गरेको उल्लेख गर्दै उहाँले सीपमूलक कार्यक्रमहरू माग भए बजेटमा कुनै समस्या नभएको बताउनुभयो । सडकमा सिसी क्यामेराको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै जीवन विज्ञान प्रयोगशालाको लागि जग्गा उपलब्ध भए भवन बनाउन वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुष्कर राज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सल्लाहकार दिवस गुरागाईँले विषय प्रवेश गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)