शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिंगापुर विकास मोडलबारे काँग्रेस केन्द्रीय कार्यालयमा छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • 85
    SHARES

काठमाडौं –  नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ।

 

 

काँग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेवल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक विद्वान लियोंग सी हियान प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा युवा र अध्ययनशील व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा हियानले सिङ्गापुरले आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका क्षेत्रमा हासिल गरेका सफल अभ्यासहरूबारे विस्तृत प्रस्तुति दिनुभयो। आर्थिक समृद्धि, प्रभावकारी शासन प्रणाली, संस्थागत विकास तथा नागरिक केन्द्रित नीतिनिर्माणका लागि सिङ्गापुरबाट नेपालले सिक्न सक्ने महत्वपूर्ण पाठहरूबारे विचार राख्नु भएको थियो ।

हियानले सिंगापुर आर्थिक रूपमा समृद्ध भएपनि केही सामाजिक सूचकहरूमा अझै चुनौतीहरू रहेको उल्लेख गर्दै विकासको अन्तिम उद्देश्य नागरिकलाई खुसी बनाउनु हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले भ्रष्टाचारविरुद्धका कानुनको कडाइका साथ कार्यान्वयन, मेरिट प्रणालीको अवलम्बन, नवप्रवर्तनलाई प्रोत्साहन तथा दीर्घकालीन नीतिगत स्थिरताका कारण सिंगापुरले छोटो अवधिमै उल्लेखनीय आर्थिक प्रगति हासिल गर्न सफल भएको बताउनुभयो।

नेपालको सन्दर्भमा सुझाव दिँदै उहाँले सुशासनका लागि कठोर र प्रतिबद्ध हुनुपर्ने, साथै कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि र नवप्रवर्तनमा केन्द्रित नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागीहरूले नेपालको वर्तमान अवस्था र विकासका चुनौतीसँग सम्बन्धित विभिन्न प्रश्नहरू राखेका थिए। हिएनले ती प्रश्नहरूको उत्तर नेपालकै सन्दर्भमा केन्द्रित भएर दिनुभएको थियो।

कार्यक्रममा सभापति थापाले हियानलाई नेपाली ढाका टोपी, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो।
हियानको प्रस्तुति र अन्तरक्रियापछि सभापति थापाले सुशासन नै समुन्नतिको प्रमुख आधार भएको उल्लेख गर्दै सिंगापुरको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो।

उहाँले सिंगापुरका बारेमा विगतदेखि धेरै सुन्दै आएको भएपनि त्यहाँका विद्वानसँग प्रत्यक्ष संवादबाट थप उपयोगी जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो। नेपालको नीति निर्माण, सुशासन र समृद्धिका लागि यस्तो छलफल मार्गदर्शक बन्न सक्ने उहाँको विश्वास थियो।

सभापति थापाले वर्तमान सरकारको प्रमुख प्राथमिकता पनि सुशासन रहेको बताइँदै आएको स्मरण गराउँदै सुशासनको अभियानमा काँग्रेस सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो। तर सुशासनका लागि सरकारमा रहेका व्यक्तिहरूको व्यवहार र प्रतिबद्धतासमेत देखिनुपर्ने उहाँको भनाइ थियो।

सरकारले गठन गरेको छानबिन समितिलाई काँग्रेसले सहयोग गर्ने उल्लेख गर्दै उहाँले समितिको काम निष्पक्ष र विश्वसनीय हुनुपर्ने धारणा राख्नुभयो।

सिंगापुरमा शीर्ष नेतृत्व र राजनीतिक दलहरूले नै सुशासनको मानक स्थापित गरेकाले त्यहाँ सुशासनको वातावरण निर्माण भएको उदाहरण प्रस्तुत गर्दै थापाले नेपालमा पनि राज्य सञ्चालन गर्ने नेता र राजनीतिक दलहरू नै सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
“मूल नै फोहोर भए जरा सफा हुँदैन। त्यसैले सुशासनका लागि राज्यको मूल मानिने शीर्ष नेता र राजनीतिक दलहरू नै सफा हुनुपर्छ,” सभापति थापाले भन्नुभयो।

काँग्रेसको ग्रिन टेवल छलफल श्रीङ्खलामा शुक्रबार पनि छलफल हुने भएको छ । शुक्रबार दिउसो ४ बजेपछि हुने कार्यक्रममा मानवअधिकार आयोगको प्रतिवेदनका सम्वन्धमा विज्ञ तथा सरोकारवालाहरुसँग छलफल हुन लागेको ग्रिन टेवलका संयोजक कञ्चन झाले जानकारी दिनुभयो । पार्टी कार्यालयमा भइरहेका यस्ता नीतिगत र वैचारिक चिन्तन मननका कार्यक्रमहरुले पार्टीका नेता तथा कार्यकर्ताहरुको बुझाईलाई धेरै फराकिलो र गहकिलो बनाएकाले उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)