बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०८३
  • 106
    SHARES

काठमाडौं –  नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णु पौडेल पक्राउ गरिएको घटनाको विरोधमा संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली को उपस्थितिमा बसेको एमाले संसदीय दलको बैठकले पौडेलको गिरफ्तारीलाई सुनियोजित र राजनीतिक प्रतिशोधबाट प्रेरित कदम भन्दै संसद्भित्र र बाहिर विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सांसद गुरु बराल ले उपाध्यक्ष पौडेलको गिरफ्तारी विधिको शासनविपरीत रहेको दाबी गरे। उनले सरकारको कदम लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको भन्दै संसद्मा कडा रूपमा प्रतिवाद गरिने बताए।

एमालेले मुलुकमा विधिको शासन कायम गर्न, सरकारी स्वेच्छाचारिता र अराजक गतिविधिविरुद्ध आवाज उठाउन तथा जनताका समस्यामा सरकारको ध्यानाकर्षण गराउन पनि निर्णय गरेको जनाएको छ। बैठकले बढ्दो महँगी, बाढी–पहिरो लगायतका विषयमा सरकार गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै पीडित नागरिकका पक्षमा आवश्यक कदम चाल्न सरकारलाई दबाब दिने निर्णयसमेत गरेको छ।

एमालेका प्रमुख सचेतक ऐन महर का अनुसार बैठकले सात बुँदे प्रस्ताव पारित गरेको छ। प्रस्तावमा उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण, अपमानजनक र गैरकानुनी भन्दै उनको अविलम्ब रिहाइको माग गरिएको छ।

बैठकमा अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थिति र संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाबारे सांसदहरूलाई निर्देशन दिएका थिए। संसदीय दलको बैठकपछि एमाले सचिवालय बैठक अध्यक्ष ओली निवास गुण्डुमा बस्ने तय भएको छ। सचिवालय बैठकले आगामी राजनीतिक रणनीति र आन्दोलनका कार्यक्रमबारे थप निर्णय गर्ने एमाले नेतृ पद्मा अर्याल ले जानकारी दिइन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरेका पौडेललाई काठमाडौं ल्याइएको छ। उनीविरुद्धको अनुसन्धान प्रक्रिया जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)