शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सूर्य विनायक नगरपालिकाका पाँच वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा


  • माउन्टेन खबर
  • सोमवार, असार १५, २०८३
  • 160
    SHARES

भक्तपुर –  सूर्य विनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आइतबार सूर्य विनायक नगरपालिका–३ बाल कोट र वडा नं ४ दधि कोटलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ । सूर्य विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्य विनायक नगरपालिकाका –३ र ४ मा आयोजित बृहत् कार्यक्रमका बिच ती वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान गरेका हुन् ।

भक्तपुर जिल्लाका चार वटा स्थानीय तहमध्ये सूर्य विनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुने पहिलो पालिका बनेको नगर प्रमुख थापाको भनाई थियो । स्थानीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकाले सबै १० वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाले बताए ।

असार १७ गतेसम्ममा नगरपालिकाका सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पूरा हुने नगर प्रमुख थापाको भनाई थियो । नगर प्रमुख थापाका अनुसार, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान अन्तर्गत नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरी ५१ वटा सूचक पूरा गरिसकेको छ ।

जिल्ला विकास समितिले सबै सूचक पुरा भएको पत्र दिएपछि नगरका सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिएको बताउँदै नगर प्रमुख थापाले बागमती प्रदेशले पुरा  बुँदा पुरा भएको पत्र पठाएपछि नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जानकारी दिए ।

सूर्य विनायक नगरपालिकाले भौतिक विकास निर्माणसँगै बृद्धबृद्धा, बालबालिकाका क्षेत्रमा लक्षित बजेटको व्यवस्था गरेको उपप्रमुख सरिता तिम्सिना भट्टराईको भनाई थियो । नगरपालिकाका सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री बनाएको बताउँदै उपप्रमुख तिम्सिना भट्टराईले विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको जानकारी दिइन ।

तोकिएका सूचकमध्ये ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हासिल गरेकाले सूर्य विनायकका १० वटा  वडालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन युक्त वडा’ घोषणा गरिएको

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवाराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यका अनुसार, सूर्य विनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिकाले ७० लाख गरी कुल एक करोड ७० लाख बजेटको व्यवस्था गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सुरु गरेको हो ।

वडा नं ३ का वडाध्यक्ष दीपेन्द्र केसीले आज वडा नं ३ बाल कोटलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेको बताउँदै यसलाई दिगो र परिणाममुखी बनाउन नगरपालिका र वडा लागिरहने बताए । बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्नका लागि पूरा गर्नुपर्ने सूचकहरूमध्ये बालविवाह, बालश्रम, हिंसा पूर्ण रूपमा निषेधित हुनुपर्ने, सबै बालबालिकाको जन्म दर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने प्रावधान सबै वडाले पूरा गरेको केसीको भनाई थियो ।

त्यसै गरी वडा नं. ४ दधिकोटस्थित अरनिको स्कुलमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष लछुराम न्यौपानेले वडामा बालविवाह पूर्ण रूपमा निषेध रहेको, बालश्रम हुने नगरेको, बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुर्व्यवहार पूर्ण रूपमा रोकिएको जानकारी दिए । न्यौपानेले वडामा सडक बालबालिका नरहेको गर्भवतीले सात पटक स्वास्थ्य जाँच गराउने गरेको टिटानस विरुद्धको खोप र आइरन चक्की खाने गरेको बताउँदै दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराउने गरेको बताए ।

दुवै वडामा आयोजित कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानमा सहयोग पुर्‍याउने वडा बाल सञ्जाल  नगर बाल सञ्जाल, विद्यालयहरू, स्वास्थ्य संस्था स्वयंसेविकालाई कदर पत्रसहित सम्मान गरिएको थियो । त्यसै गरी खानेपानी समिति, रेडक्रस, सहकारी संस्था, सांस्कृतिक समूहलाई कार्यक्रममा कदर पत्र प्रदान गरिएको थियो ।

वडा नं.३ मा आयोजित कार्यक्रममा नगर प्रवक्ता रवीन्द्र सापकोटा, वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्का, नेपाली काँग्रेसका नेता कबिर राणा, कार्यपालिका सदस्य हेमा दाहाल खतिवडा, वडा बालमैत्री सम्पर्क व्यक्ति तथा सदस्य जनक भण्डारीले पनि मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरी वडा नं. ४ मा वडा सदस्य विदुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यी दुई बडासँगै सूर्य विनायकका १, २, ३, ४ र ७ गरी पाँच वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन् । अन्य बाँकी चार वटै वडालाई पनि बुधवारसम्ममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसक्ने कार्यक्रम रहेको नगर प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)