काठमाडौं – सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ। उनलाई निगमको महाप्रबन्धकको जिम्मेवारीसमेत रहने गरी नियुक्त गरिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारीसहित नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारको निर्णयसँगै श्रेष्ठले निगमको कार्यकारी नेतृत्व सम्हाल्नेछन्। निगमको व्यवस्थापन, सञ्चालन तथा सुधारका कार्यहरूमा उनले कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुवै हैसियतमा जिम्मेवारी निर्वाह गर्नेछन्।
बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट तथा व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारका पूर्वनिर्णयअनुसार गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।
