काठमाडौँ – कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका चार मन्त्रीले बुधवार सामूहिक रूपमा राजीनामा दिएका छन्।
मन्त्रीहरूले बुधवार बिहान मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकास मन्त्री विजय बुढा रहेका छन्।
बुधवार बिहान मन्त्रिपरिषद् बैठक बोलाइए पनि काँग्रेसका कुनै पनि मन्त्री त्यसमा सहभागी भएनन्। आर्थिक मामिला तथा योजना मन्त्री शाह विदेश भ्रमणमा रहेकाले बैठकमा उपस्थित भएनन् भने ऊर्जा तथा जलस्रोत विकास मन्त्री बुढा पनि बैठकमा सहभागी भएनन्। मुख्यमन्त्री कार्यालय पुगेका वन मन्त्री अधिकारी र सामाजिक विकास मन्त्री भण्डारी भने मन्त्रिपरिषद् बैठकमा नबसी मुख्यमन्त्रीलाई राजीनामा बुझाएर फर्किएका थिए।
कर्णाली प्रदेशमा एमाले र नेपाली काँग्रेसको गठबन्धन सरकार सञ्चालनमा छ। सरकारको नेतृत्व एमालेका मुख्यमन्त्री यामलाल कँडेलले गरिरहेका छन्। प्रदेश सरकारमा एमालेका तर्फबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री छन्।
यसअघि एमाले र काङ्ग्रेसबिच आलोपालो नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसारनै मन्त्रीहरूले राजीनामा दिएको हुन्।
