काठमाडौं – नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभएको हो । उहाँकाअनुसार बैठक मुलुकले सामना गरिरहेको विपद् र त्यसबाट प्रभावित नागरिकको उद्धार तथा राहतका विषयमा केन्द्रित थियो । उहाँले पार्टीका नेताहरुले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारको अवस्था, उपलब्धि र कमजोरीबारे बैठकलाई ब्रिफिङ गरेका थिए । उहाँले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था, मेडिकल टिम, उद्धार टोली तथा पार्टीसँग आबद्ध दक्ष जनशक्तिलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय समेत बैठकले गरेको बताउनुभये । उहाँले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिमयुक्त बस्ती, बसोबासको व्यवस्थापन र नीतिगत सुधारका विषय समेटेर प्रतिवेदन तयार गरी संघ, प्रदेश र स्थानीय सरकारलाई पार्टीले सुझाव दिने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी सभापति गगनकुमार थापाजीको अध्यक्षतामा कार्यसम्पादन समितिको बैठक जारी छ । बैठक भोलि पनि बस्छ । विशेषगरेर आजको बैठकमा देशले जुन राष्ट्रिय विपत्तिको सामना गर्नुपरिरहेको छ, रसुवा बाढी । यही विषयमा बढी केन्द्रित भयो । हामीले विपद्पछिको उद्धार राहतको विषयमा फोकस गर्नुपर्छ भन्ने विषयमा छलफल भयो । हाम्रो विपद् व्यवस्थापनको समितिको संयोजक रसुवाको माननीयजीले पनि फिल्डको धेरै रिपोर्टहरू बैठकमा जानकारी गराउनुभएको छ । र यो रिपोर्टका आधारमा लगभग हामीले त्यसका अतिरिक्त बहादुरजी, अर्जुन नरसिंह केसीदाइ उहाँहरूले पनि त्यसको बारेमा रसुवा, धादिङको बारेमा फिल्ड रिपोर्ट, त्यहाँको जनताले परेको मर्काको बारेमा तथा राहत र उद्धारमा भएका उपलब्धि र कमजोरीको बारेमा पनि उहाँहरूले प्रशस्त अध्ययन रिपोर्ट दिनुभयो । सोहीअनुसार पार्टीका भातृ संस्था, विज्ञसहित टोलीलाई प्रभावित क्षेत्रमा पठाउने कुरा भयो ।’
उहाँले पार्टीको १५औँ महाधिवेशन पूर्वनिर्धातिर मितिमै गर्ने निर्णय गरेको पनि बताउनुभयो । पार्टीले १५औँ महाधिवेशन अगामी असोज १६, १७ र १८ गते गर्ने घोषणा गरिसकेको छ ।
