काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रसुवाको भोटेकोशी नदिमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरी खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
आईतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको हो । उहाँका अनुसार बैठकमा बाढीपछि भदौ १० गतेको बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा गर्दै आगामी दिनमा सरकार, अन्तर्राष्ट्रिय समुदाय तथा पार्टीपंक्तिबाट गर्नुपर्ने कामसहित विभिन्न २४ वटा प्रश्ताव समेत पारित गरिएका छन् । बैठकले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्ने प्रश्ताव समेत पारित गरेको उहाँले जानकारी दिनुभयो । उहाँले बाढीमा परि घाइते भएका नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने समेत बताउनुभयो । उहाँले खोज तथा उद्धार कार्यमा सरकारले आवश्यकताअनुसार अन्य पक्षको सहयोग लिनुपर्ने बैठकको निष्कर्ष रहेको बताउनुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, सुत्केरी तथा गर्भवती महिला र अपाङ्गता भएका असहाय व्यक्तिको राहत तथा पुनस्र्थापनामा विशेष ध्यान दिनुपर्नेमा बैठकले जोड दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज हाम्रो पार्टी केन्द्रीय कार्यसंयोजन समितिको विशेष बैठक बसेको थियो । बैठकमा जुन प्रलयकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा अत्यन्त ठूलो मानवीय र भौतिक क्षति पुर्यायो यही सम्बन्धमा हामीले भदौ १० गतेको बैठकमा केही निर्णयहरु गरेका थियौँ । ती निर्णयहरु कार्यान्वयनको समीक्षा गर्ने, क्षतिको विवरण संकलन गर्ने र अगामी दिनमा के के कुरामा सरकारको ध्यानाकर्षण गराउने भन्ने, अन्तर्राष्ट्रिय समूदायलाई कस्तो अपिल गर्ने र पार्टीपंक्ति र जनसंगठनहरूलाई अझै मोबिलाइजेसन कसरी गर्ने भन्ने सम्बन्धमा व्यापक रूपमा आजको बैठकमा छलफल भयो । बैठकले बाढीमा ज्यान गुमाउनुहुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, परिवारजनप्रति समवेदना व्यक्त गर्ने, घाइतेहरूको उपचारको कुरासहित विभिन्न प्रश्तावहरु समेत पारित गरेको छ । खोज र उद्धारको कार्यमा सरकारले अझै विशेष ध्यान दिनुपर्छ र त्यसका लागि अन्य पक्षको सहयोग पनि लिनुपर्छ । घाइतेहरुको जीवनरक्षालाई प्राथमिकतामा राख्नुपर्छ । प्रभावित क्षेत्रमा बालबालिका, वृद्धहरू, अलि दीर्घरोगीहरू, सुत्केरी महिला, गर्भवती महिला, अपाङ्गता भएका असहाय व्यक्तिहरूको राहत र पुनस्र्थापनाम विशेष ध्यान दिनुपर्छ । सरकारको ध्यानाकर्षण गराउने गरी र हाम्रो पार्टीले गर्नुपर्ने कामहरूका सम्बन्धमा २४ बुँदे प्रस्ताव पास गरेको छ, पारित गरेको छ र त्यो प्रस्ताव हामी भोलि सार्वजनिक रूपमा रिलिज गर्नेछौँ ।’
प्रवक्ता ज्वालाका अनुसार बैठकले सरकारको ध्यानाकर्षण गराउने तथा पार्टीले गर्नुपर्ने काम समेटेर २४ बुँदे प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव भोलि सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
