शनिबार, कार्तिक १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०८३
  • 49
    SHARES

काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्ला भवन र चिल्ला गाडीहरूले मात्र कुनैपनि शहर समृद्ध बन्न नसक्ने बताउनुभएको छ ।

कला, संस्कृति, भाषा, साहित्य र सिर्जनात्मक क्रियाकलापले मात्र शहरलाई जीवन्त बनाउने उहाँले बताउनुभएको हो । महानगरपालिकाको आफ्नै आयोजनामा पहिलोपटक शुरु भएको ‘काठमाडौं फिल्म फेस्टिभल २०२६’ को उद्घाटन गर्दै उहाँले काठमाडौं परापूर्वकालदेखि नै कथाहरूमा बाँचेको सांस्कृतिक शहर भएको उल्लेख गर्नुभयो । काठमाडौं महानगरपालिकाले युनेस्को ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालमा सूचीकृत भएपछि पहिलोपटक आफ्नै प्रत्यक्ष आयोजनामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल शुरु गरेको हो । ऐतिहासिक वसन्तपुर क्षेत्रमा आयोजित हेरिटेज वाक, परम्परागत बाजागाजा र सांस्कृतिक प्रदर्शनीसँगै महोत्सवको औपचारिक शुरुवात गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले परम्परागत डबली नाच, द्यः प्याखँ, कात्तिक नाच र नवदुर्गा नाचको माध्यमबाट शताब्दीऔँदेखि यहाँका समुदायले कथा भन्दै आएको स्मरण गराउनु भयो ।

 

आधुनिक युगमा ती ऐतिहासिक कथा र भावनालाई ठूलो पर्दा (सिनेमा) को माध्यमबाट विश्वसामु प्रश्तुत गर्न महानगरले महोत्सवको शुरुवात गरेको उहाँले बताउनु भयो । चलचित्रले समाजलाई एकै ठाउँमा ल्याउने र मानिसको चेतनामा गहिरो छाप छोड्ने अतुलनीय शक्ति राख्ने चर्चा गर्दै उहाँले सिनेमा समाज जोड्ने बलियो माध्यम भएको तर्क गर्नुभयो ।

काठमाडौं महानगरपालिकाले यसअघि अन्य विभिन्न चलचित्र महोत्सवलाई सहयोग पु¥याउँदै आएको भएपनि आफ्नै मौलिक पहिचान झल्काउने आत्मनिर्भर र दिगो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निर्माण गर्ने उद्देश्यले यो कदम चालिएको डंगोलले प्रष्ट पार्नुभयो । विश्वभरिका प्रतिष्ठित सहरहरूसँगको सांस्कृतिक साझेदारीलाई सदुपयोग गर्दै यस महोत्सवलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने लक्ष्य लिइएको छ ।

उहाँले भन्नुभयो, ‘मेरो विश्वास छ, शहरको समृद्धि अग्ला भवन र चिल्ला सडकले मात्र होइन, त्यहाँको कला, संस्कृति, भाषा, साहित्य र सिर्जनशीलताले मापन हुन्छ । त्यसैले यो महोत्सवलाई हामी सबैको साझा उत्सव बनाउँदै नेपाली चलचित्र र संस्कृतिलाई विश्वसामु चिनाउन एकजुट होऔँ । अन्त्यमा, कवि भूपी शेरचनका यी सुन्दर पङ्क्ति स्मरण गर्न चाहन्छु । साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन ? सबथोक छ । आज यसै चोकमा हाम्रा सपना, कला, संस्कृति, कलाकार, आशा र सम्भावनाहरू एकै ठाउँमा जोडिएका छन्। यही साझा प्रयासको एउटा सुन्दर रूप हो–काठमाडौँ फिल्म फेस्टिभल । यस महोत्सवलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै काठमाडौं फिल्म फेस्टिभल २०२६ औपचारिक रूपमा शुभारम्भ भएको घोषणा गर्दछु ।’

कवि भूपि शेरचनको प्रसिद्ध कविता ‘साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन ? सबथोक छ’ स्मरण गर्दै उहाँले काठमाडौंका साँघुरा गल्ली, चोक र ननीहरूमा अथाह कला, संस्कृति, सपना र सकारात्मक सम्भावना रहेको बताउनु भयो । उहाँले महोत्सवलाई सफल बनाउन सम्पूर्ण नागरिक, स्रष्टा र चलचित्रकर्मीहरूलाई आह्वान समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)