बिहिबार, मंसिर ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल–भारतबिच ‘स्वर्णिम अध्याय’ सुरु


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १०, २०८३
  • 55
    SHARES

काठमाडौँ-  नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले यही आइतबार र सोमबार गर्नुभएको भारत भ्रमणलाई भारतका प्रमुख सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएर समाचार प्रस्तुत गरेका छन् । प्रधानमन्त्री भएपछि शाहको यो पहिलो राजकीय विदेश भ्रमण हो । भ्रमणलाई भारतका मिडियाहरूले दुई देशबिचको सम्बन्धमा ‘नयाँ अध्याय’ र विगतको कूटनीतिक चिसोपना अन्त्य  ‘रिसेट’ गर्ने प्रयासका रूपमा अथ्र्याएका छन् ।

‘टाइम्स अफ इन्डिया’ ले प्रधानमन्त्री शाहको भ्रमणसँगै नेपाल–भारत सम्बन्धमा ‘स्वर्णिम अध्याय’ को सुरुवात भएको र भारतले नेपालका लागि १५ हजार करोड भारतीय रुपियाँ बराबरको आर्थिक प्याकेज घोषणा गरेको मुख्य शीर्षकमा समाचार प्रस्तुत गरेको छ । प्रधानमन्त्री शाहले हवाई सम्पर्क विस्तार गर्न गरेको आग्रह अनुसार काठमाडौँ–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउन दुवै देश सहमत भएको विषयलाई सो पत्रिकाले महत्व दिएको छ ।

‘हिन्दुस्तान टाइम्स’ पत्रिकाले प्रधानमन्त्री शाहको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा ‘नयाँ अध्याय’ सुरु गर्ने अवसरका रूपमा व्याख्या गरेको छ । हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्ता र स्याटेलाइट प्रविधि, सुशासन, स्वास्थ्य तथा सहरी विकासलगायत कम्तीमा आठ वटा समझदारीपत्रमा भएको हस्ताक्षरलाई यसले मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । भारतद्वारा नेपाललाई २४ हजार करोड नेपाली रुपियाँ बराबरको विकास प्याकेज घोषणा गरिएको र अयोध्या–जनकपुरधाम जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटनलाई पनि सो प्रत्रिकाले प्रमुखता साथ समेटेको छ ।

‘द इन्डियन एक्सप्रेस’ पत्रिकाले भ्रमणको मुख्य एजेन्डाका रूपमा व्यापार, ऊर्जा, प्रविधि, जलस्रोतको उपयोग तथा भौतिक र डिजिटल कनेक्टिभिटीलाई जोड दिएको छ । वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारसँग भारतले उच्चस्तरीय राजनीतिक संवाद र विकास सहकार्यलाई थप विस्तार गर्न चाहेको विश्लेषण सो पत्रिकामा गरिएको छ । त्यस्तै ‘एनडिटिभी’ ले प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबिच हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता र आठ वटा विभिन्न समझदारीपत्रमा भएको हस्ताक्षरलाई ‘लाइभ अपडेट’ मार्फत मुख्य समाचार बनाएको छ । यस भ्रमणलाई दुई देशबिचको सम्बन्धमा नयाँ गति दिने प्रयासका रूपमा चित्रण गरिएको छ ।

‘द हिन्दु’ ले भारतले नेपालका लागि घोषणा गरेको २४ हजार करोड नेपाली रुपियाँ बराबरको विकास प्याकेजलाई मुख्य समाचार बनाएको छ । साथै नेपालमा भारतीय प्रविधि संस्थानको शाखा स्थापना गर्ने घोषणा, नेपाली विद्यार्थीलाई छात्रवृत्ति, अयोध्या–जनकपुर ‘सरयू–कमला’ रेल सेवाको उद्घाटन र दार्चुला–धार्चुला पुलको भर्चुअल उद्घाटनलाई द्विपक्षीय सम्बन्धको नयाँ चरणका रूपमा प्रस्तुत गरिएको छ । ‘इटिभी भारत’ ले ‘विकसित भारत र समुन्नत नेपाल’ को १० बुँदे मार्गचित्र र सीमापार रेल तथा सडक सञ्जाल विस्तारले दशकौँ पुरानो सामाजिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई नयाँ ऊर्जा दिने उल्लेख गरेको छ ।

त्यस्तै ‘इन्डिया टुडे’  र ‘फस्र्टपोस्ट’ ले प्रधानमन्त्री बनेपछिको पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि शाहले बेइजिङको सट्टा नयाँ दिल्ली रोजेको विषयलाई कूटनीतिक सम्बन्ध सुधारको महत्वपूर्ण कदमका रूपमा विश्लेषण गरेका छन् । अब्जर्भर रिसर्च फाउन्डेसनलगायत भारतीय विश्लेषकहरूले पहिले नयाँ दिल्लीको भ्रमण रोज्नुलाई नेपालको विदेश नीतिमा भारतको चासोलाई  स्वीकार गरिएको महत्वपूर्ण कूटनीतिक सङ्केतका रूपमा अथ्र्याएका छन् ।

प्रधानमन्त्री शाहले भारत जाँदा विगतका नेपाली प्रधानमन्त्रीहरूले जस्तो धार्मिकस्थल वा अन्य सहरहरूको भ्रमण नगरी करिब २४–२५ घण्टा मात्र नयाँ दिल्लीमा रहेर सिधै कामकाजी बैठकमा केन्द्रित हुनुलाई भारतीय सञ्चारमाध्यमले ‘कूटनीतिक औपचारिकताभन्दा ठोस नतिजामा केन्द्रित शैली’ का रूपमा समेत चर्चा गरेका छन् । साथै यस भ्रमणलाई त्यहाँ दुई देशबिचको विश्वास पुनर्निर्माण गर्ने, आर्थिक तथा ऊर्जा साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने र ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अगाडि बढाउने सकारात्मक सुरुवातका रूपमा प्रस्तुत गरिएको छ । गोरखापत्र

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)