काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया जाने नेपाली श्रमिकसँग अवैध रूपमा रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई आज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
मलेसिया जाने श्रमिकबाट नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत रकम संकलन गरी ठगी गरेको प्रकरणमा अर्यालमाथि अनुसन्धान भइरहेको छ।
यसअघि नै यही प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पनि छन्।
मलेसिया जाने श्रमिकमाथि सम्झौताविपरीत आर्थिक भार थपेर रकम असुली गरेको आरोपमा प्रहरीले यस प्रकरणको अनुसन्धान अघि बढाएको हो।
