लकडाउनका बेला खाद्य सामाग्रीको अभाव नहोस भन्ने उद्धेश्यले सरकारले राहत वितरण गर्ने भएको छ । लकडाउनका कारण दैनिक अत्यावश्यक खाद्य वस्तुहरु सरल सहज रुपमा एकै किसिमको मापदण्ड बनाई वितरण गरिन लागेको हो ।
बुधबार उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी सहित काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर उपमहानगरपालिकाका प्रमुख र मध्य भक्तपुर ठिमी नगरपालिकाका प्रमुखहरु सहितको उपस्थितिमा भएको बैंठकले राहात वितरणको मापदण्ड बनाएको हो ।
नगरपालिकाहरुको मागको आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सो बमोजिमको खाद्य सामाग्री उपलब्ध गराउने छ ।
राहत वितरणको व्यवस्था सम्बन्धीत वडाले संकलित तथ्यांकका आधारमा गर्ने र उपत्यका बाहिरका स्थानीय तहले समेत सोही मापदण्डलाई आधारमानी राहत वितरण गर्न सकिने मन्त्रालयका सहप्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।
लकडाउनपछि विशेष गरेर दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्ने समूह सबैभन्दा बढि प्रभावित बनेका छन् । मन्त्रिपरिषदले कोरोनाबाट प्रभावित बनेका श्रमिकहरुलाई राहत दिने निर्णय गरेको थियो ।
