संयुक्त राज्य अमेरिकामा दैनिक १ लाखका दरले संक्रमित थपिए पनि अचम्म मान्नु नपर्ने त्यहाँका उच्च रोग अनुसन्धानकर्ता डा एन्थोनी फासीले बताउनु भएको छ ।
अमेरिकामा अझै पनि कोरोना नियन्त्रणमा नरहेको बताउँदै अमेरिकीहरुले आफ्नो जीवनशैली र व्यवहारमा परिवर्तन नगरे अझै भयावह स्थिति आउने भन्दै सचेत गराउनु भएको छ । धेरैजसो अमेरिकीहरुले अझै पनि मास्क लगाउने नगरेको र सामाजिक दूरी समेत कायम नगरेकाले परिस्थिति अझ खराब हुनसक्ने बताउनु भयो । यस अघि न्युयोर्कका गभर्नरले प्रभावित राज्यहरुको भ्रमण गरेका आधाभन्दा बढी अमेरिकीहरुले आफूलाई सेल्फ क्वारेन्टाइनमा राख्नुपर्ने बताउनु भएको छ ।
मंगलबार अमेरिकामा संक्रमितको संख्या फेरि बढेर एकै दिनमा ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमणको वृद्धिदर मुख्यरुपमा दक्षिणी र पश्चिमी १६ वटा राज्यहरुमा देखिएको छ । जसले गर्दा ती राज्यहरुमा लकडाउन अन्त्य गरी जनजीवन सामान्य बनाउने निर्णय यथास्थितिमा राख्ने र कतिपय अवस्थामा उल्ट्याउने गरिएको छ ।
अमेरिकी रोग अनुसन्धानकर्ता फासीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्निया सबैभन्दा प्रभावित राज्यहरु रहेको बताउनु भएको छ । यसै गरी न्युयोर्कका गभर्नर एन्ड्रु क्युमोले पनि अमेरिकाका कोरोनाबाट बढी प्रभावित १६ वटा राज्यको भ्रमण गर्नहरुले अनिवार्य १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताउनु भएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म २६ लाख २९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी छ । अमेरिकामा हालसम्म १ लाख २७ हजारभन्दा बढीले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।
विश्वमा हालसम्म १ करोड ४ लाख ३४ हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ९ हजार नाघिसकेको छ ।
