३० बैशाख, रसुवा । रसुवाका मतदान स्थल तथा मतदान केन्द्रको जिल्लाका उच्च स्तरिय टोलीले स्थलगत अवलोकन गरेका छन् । आज भईरहेको स्थानिय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्च स्तरिय टोलीले स्थलगत अवलोकन गरेका हुन् ।
बिहानैदेखि जिल्लाको मतदान केन्द्रमा भईरहेको मतदानको अवस्थाबारे जिल्लाका उच्च स्तरिय टोलीले अनुगमन गरिरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिइन् । मतदानस्थल तथा मतदान केन्द्र, मतदाताका गुनासाहरुबारे निरिक्षण गरिरहेको उनले बताइन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा आज (शुक्रबार) जिल्लामा उत्साहमय रुपमा मतदान भइरहेका उनले बताइन् ।
जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो । मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरुमा बिहानैदेखि घुँइचो लागेको छ ।
बृद्धबृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरुको पनि उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन् ।
मतदानस्थल तथा मतदानकेन्द्रको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निरिक्षणमा खटिएका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा लगायतको टोलीले स्थलगत निरिक्षण गरेका छन् ।
जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली खटिएका छन् ।
जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ ।
जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।
