रसुवा, ३० बैशाख
रसुवामा आज भएको मतदानमा ७७ प्रतिशत मत खसेको छ । जिल्लामा ७७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रमा मतदानको कार्य सम्पन्न भएको उनले बताए । बिस्तृत विवरण संकलन भईरहेको उनले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा आज (शुक्रबार) जिल्लामा उत्साहमय रुपमा मतदान भएको थियो ।
जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो । मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरुमा बिहानैदेखि घुँइचो लागेको थियो ।
बृद्धबृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरुको पनि उत्साहजनक रुपमा मतदानमा सहभागी भएका थिए ।
जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली खटिएका छन् ।
जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ ।
जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।
