२ साउन, काठमाडौं । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।
पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत हुनुहुन्छ । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ । उहाँले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताउनुभयो । “हाम्रो टिमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ”, उहाँले भन्नुभयो ।
यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । “धुलिखेललगायतको स्थानका डेङ्गु रोगको सङ्क्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौँ”, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भन्नुभयो । उहाँका अनुसार पाँचखालमा दुई साताअघि भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् ।
ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको काठमाडौमा उपचार भइरहेको सेढाईंले बताउनुभयो । लामो समयपछि पाँचखालमा पहिलो डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताउनुभयो । उहाँका अनुसार डेङ्गु रोगको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘¥यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ ।
काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेङ्गुको सङ्क्रमण देखिएको थियो । त्यसबेला खानीखोला गाउँपालिकामा सङ्क्रमित एक पुरुष भेटिएसँगै जिल्लाका छ जनामा सङ्क्रमण देखिएपछि तत्काल उपचारमा लगिएको थियो । छ सङ्क्रमितमध्ये चारको टेकु अस्पताल र दुईको धुलिखेल अस्पतालमा उपचार गराइएको थियो ।
