शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २१, २०८०
  • 410
    SHARES

बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए । सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन–चारवटा बच्चा जन्माउने गर्थे । तर अहिले यो अवस्था निकै परिवर्तन भएको छ । नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् ।

केही वर्ष अगाडिसम्म यहाँका महिलाले घरमै बच्चा जन्माउँथे । सरकारले ‘शून्य होमडेलिभरी’को नीति ल्याए पनि निसीखोलामा कार्यान्वयन गर्न सकिएको थिएन । अहिले त्यो अवस्था छैन । यहाँका हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्छ भन्ने छाप बसेको छ । त्यसले गर्दा उनीहरू स्वास्थ्य संस्थामै पुग्ने गर्छन् । कतिपय गर्भवती बच्चा जन्माउने समय आउनासाथ स्वास्थ्यचौकी र बर्थिङ सेन्टरमा पुग्छन् भने कतिपय सुत्केरी ब्यथा लाग्न थाल्यो भनेमात्रै स्वास्थ्य संस्था जाने सुरसार गर्छन् ।

जसका कारण पछिल्लो समय निसीखोलामा स्वास्थ्य संस्था नपुग्दै बीच बाटोमा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभन्दा टाढा रहेको स्वास्थ्यचौकीमा उनीहरू समयमै पुग्न नसक्दा बाटोमै बच्चा जन्माउने गरेका छन् । यहाँका अधिकांश गाउँबाट स्वास्थ्य संस्था पुग्न आधा घण्टादेखि दुई घण्टासम्म समय लाग्छ । निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यजस्तै छ । बर्थिङ सेन्टर र स्वास्थ्यचौकी टाढा हुँदा बाटोमै सुत्केरी भएपछि महिलाले ठूलो सास्ती खेप्नुपरेको छ । बीच बाटोमै सुत्केरी हुँदा आमा र बच्चाको अवस्थाबारे स्वास्थ्यकर्मीले समयमै जानकारी लिन पाउँदैनन् ।

कतिले बाटोमा सुत्केरी भएपछि त्यहीँबाटै घर फर्काउँछन् भने कतिले स्वास्थ्य संस्थामा पुर्याएर स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै फर्काउँछन् । निसीखोलाको भू–भाग कैतै अग्ला डाँडा, कतै होचा खोँच त कतै समथर भू–भाग रहेको हुँदा गाउँदेखि अर्को गाउँसम्म पुग्न घण्टौँ लाग्छ । त्यसले गर्दा अस्पताल पुग्नै गाह्रो हुने गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जुनी घर्तीमगर विगतको तुलनामा ‘होमडेलीभरी’ हुनेको सङ्ख्या निकै कम भएको बताउँछिन् ।

करिब दुई वर्षयता कुनै पनि गर्भवती घरमा सुत्केरी भएको तथ्याङ्क नभएको भन्दै केही अस्पताल आउँदै गर्दा बाटोमै सुत्केरी हुने गरेको घर्तीमगर बताउँछिन् । पछिल्लो समय महिला शिक्षित र सचेत बन्न थालेपछि स्वास्थ्यका बारेमा बढी चासो दिनुका साथै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको उनेल जनाइन् । अघिल्लो वर्ष करिब ३० गर्भवती स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएको संयोजक घर्तीको भनाइ छ । यस वर्ष पनि करिब १५ जना बाटोमै सुत्केरी भएको उनले बताइन् ।

‘घरमै सुत्केरी हुने एक प्रतिशतमात्रै होला, गत वर्षदेखि घरमा सुत्केरी भएको पाइएको छैन, तर बर्थिङ सेन्टर र स्वास्थ्यचौकी आउँदा बाटोमै सुत्केरी हुनेको सङ्ख्या भने बढेको छ, बस्ती टाढा–टाढा छन्’, घर्तीले भनिन्, ‘अहिले धेरै महिला दिदीबहिनी सचेत बन्दै जानुभएको छ, सबैलाई सुत्केरी हुन स्वास्थ्यचौकीमै जानुपर्छ भन्ने सोच छ, धेरैजसो समयमै बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा आएर बच्चा जन्माउने गर्नुभएको छ, कोहीचाहिँ ब्यथा लागेपछि मात्रै घरबाट हिँड्दा बाटोमा बच्चा जन्माउने गरेको पाइन्छ, गर्भ जाँच गर्न आउँदा नै उहाँहरूलाई समयमै आउनुपर्छ भनेका हुन्छौँ ।’ निसीखोलाभर छवटा बर्थिङ सेन्टर छन् भने स्वास्थ्यचौकी चार, सामुदायिक स्वास्थ्य एकाइ दुई र आधारभूत स्वास्थ्य सेवा केन्द्र दुईवटा छन् ।

स्थानीय ६३ वर्षीया चन्द्रमला बुढामगरले आफूहरूको पालामा कोहीले पनि अस्पतालमा गएर बच्चा नजान्माएको भन्दै अचेल हरेक गर्भवती स्वास्थ्य संस्थामा पुग्ने गरेको बताइन् । आफूहरूको पालामा स्वास्थ्य संस्था धेरै टाढा हुँदा धेरै समस्या भोग्नुपरेको भन्दै अहिले सहज बन्दै गएको उनको भनाइ छ ।

बुढामगरले भनिन्, ‘मैले सात छोराछोरी जन्माएँ, कोही घाँस काट्दा बारीको काल्नामा जन्मिए, कोही गोठालो गएको बेला जङ्गलमा, अहिले त अस्पतालमै जान्छन्, अस्पतालमा गएर सुत्केरी हुँदा बच्चा निरोगी हुँदा रैछन्, हाम्रो पालामा घरमा बच्चा जन्माउन नसकेपछि मात्रै डोकामा बोकेर अस्पताल लैजाने गरिन्थ्यो, नजिकमा अस्पताल थिएनन्, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन लाग्थ्यो, अहिले त आधा घण्टामै पुग्न सकिन्छ ।’

निसीखोलाको निसेलढोर, जाउलेपानी, छापाखानी, चैतेलगायत गाउँबाट स्वास्थ्यचौकी पुग्न घण्टौँ लाग्छ । मोटरबाटोले सबै गाउँ जोडिए पनि निरन्तर यातायातका साधान नचल्दा गर्भवती अस्पताल नपुग्दै बाटोमै सुत्केरी हुने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)