काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ । बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोक लगाएका हुन् ।
नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको थियो । माओवादी केन्द्रले गत जेठ ३१ गते पत्रबाट गरेको कारबाही पत्र सुनाउँदै सभामुख कृष्ण प्रसाद धितालले निलम्बनको सूचना पढेर सुनाएका थिए । त्यसविरुद्ध देवकोटा सर्वोच्च गएका थिए ।
सर्वोच्चले कारबाही गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि संसद बैठकमा पुगेका देवकोटालाई मर्यादापालकले रोकेका हुन् ।
उनले गत जेठ २८ गते नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको जेठ २९ गते उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरिएको थियो ।
देवकोटालाई माओवादी संसदीय दलका नेताले २०८१ जेठ २९ गते स्पष्टीकरण सोधेको र ३१ गतेको पत्रबाट कारबाही गरिएको थियो ।
गएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट देवकोटाले चुनावमा भाग लिएका थिए ।
