शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार काठमाडौंमा


  • माउन्टेन खबर
  • सोमवार, भदौ २४, २०८१
  • 118
    SHARES

काठमाडौँ । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ ।

ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उहाँहरु नेपाल आउनुभएको हो । कलाकार सिद्दिकीले आफू नेपाल पहिलो पटक आएको बताउँदै साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताउनुभयो । “म नेपाल पहिलो पटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएँ”, उहाँले भन्नुभयो, “ फेरि पनि नेपाल अवश्य आउँछु ।” त्यस्तै, निर्देशक कश्यपले नेपालको चलचित्र क्षेत्रको स्तरोन्नति हुँदै गएकोमा प्रशंसा गर्नुभयो ।

प्रिमियरमा नेपाली, भारतीय कलाकारदेखि नेताहरुको बाक्लो उपस्थिति थियो । चलचित्र हेर्नकै लागि आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन आकर्षित गर्ने अर्को कलात्मक माध्यम चलचित्र रहेको बताउनुभयो । उहाँले सकेसम्म पर्यटक भित्र्याउने र एक पटक नेपाल आएका पर्यटकलाई पटकपटक आउन प्रेरित गर्ने खालका गतिविधि गर्न जरुरी रहेको सुनाउनुभयो ।

भामको चलचित्र साम्बालाले पर्यटन आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । चलचित्र ‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो । साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतको अभिनय रहेको छ ।

चलचित्र हेर्नको लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, रास्वपा नेतृ सुमना श्रेष्ठ, सांसद तथा निर्देशक असिम शाहदेखि कलाकार निर शाह, दयाहाङ राई, नाजिर हुसेन, जितु नेपाल, सृष्टि श्रेष्ठ, गायक–गायिका आनी छोइङ डोल्मा, सत्य–स्वरुपराज आचार्य, इन्दीरा जोशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)