सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अब ७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवा: स्वास्थ्य मन्त्री पौडेल


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०८१
  • 111
    SHARES

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्य मन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताउनुभएको हो ।

उहाँले आयुर्वेद क्षेत्रलाई व्यापक ढङ्गले विकास गर्ने कोसिस सरकार रहेको बताउनु भयो । उहाँले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गर्नुभयो । उहाँले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताउनु भयो । मन्त्री पौडेलले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्ने कुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘५ वर्षअघि क्यान्सर हुनेहरूको सङ्ख्या कति थियो र आज कति छ ? आज सर्भाकल क्यान्सरबाट मृत्यु हुने महिलाको सङ्ख्या दिनमा ४ जना छ । आज भन्दा १५ वर्ष अगाडि यस्तो थिएन । अटिजमको समस्या भएकाहरूको सङ्ख्या आज भन्दा ५ वर्ष अगाडि जति थियो, आज तीन गुणा बढेको छ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार सेवा उपलब्ध गराउने कुरा असाध्यै कठिन हुन्छ । राज्यले थेग्नै नसक्ने गरी भार बढ्ने स्थिति हुन्छ । त्यसो हुनाले हामीले बिरामी बढाउने होइन । बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ । त्यसअन्तर्गत यी कामहरू भइरहेका छन् ।

हामीले निरोगी नेपाली वा नेपालीलाई रोग लाग्न नदिन केके उपाय अपनाउन सकिन्छ, त्यसमा कोसिस गरिरहेका छौँ । हामीले स्क्रिनिङको कार्यक्रम व्यापक ढङ्गले सञ्चालन गरेका छौँ । आयुर्वेद क्षेत्रलाई व्यापक ढङ्गले विकास गर्ने कोसिस गरिरहेका छौँ । हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दै छ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी व्यवस्था गर्दै छौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन सबै नेपालीलाई आवश्यक छ । किनकि यो हाम्रो मौलिक प्रणाली हो । यो हाम्रो जीवनपद्धति हो । यो हाम्रो संस्कृति र सभ्यता पनि हो । आयुर्वेद विषयको नेपाल हब बन्नुपर्दथ्यो । नेपालबाटै यो उत्पत्ति भएको भन्ने कुरा संसारमा फिँजिनु पर्दथ्यो । ’

मन्त्री पौडेलले सरकारले बिरामी हुन नदिने उपायहरूको बारेमा खोजी गरिरहेको बताउनु भयो । उहाँले सरकारले निरोगी नेपाली बनाउने गरी अभियान सुरु गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)