सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सर्वोच्चको फैसला स्वीकार्छौं: मिन विश्वकर्मा

अब पार्टी एकताको जिम्मेवारी सभापति थापाको काँधमा


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ५, २०८३
  • 226
    SHARES

काठमाडौँ- सर्वोच्च अदालतले नेपाली काँग्रेसको आधिकारिता गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहलाई दिने फैसला गरेपछि पार्टीभित्रको राजनीति नयाँ मोडमा पुगेको छ ।

नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले सर्वोच्चको फैसलालाई आफूहरूले स्वीकार गर्ने र अब पार्टी एकता कायम राख्ने जिम्मेवारी नयाँ सभापति गगन थापाको काँधमा आएको बताउनुभएको हो ।

शुक्रवार सर्वोच्चको फैसला आएपछि शनिवार काठमाडौंको गोल्फुटारस्थित पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा निःवर्तमान पदाधिकारी र केन्द्रिय सदस्यहरूको अनौपचारिक भेटघाट भएको थियो । सो भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता विश्वकर्माले उक्त भेटघाट केवल अनौपचारिक छलफल र परामर्शका लागि राखिएको जानकारी दिनुभयो ।

नेता विश्वकर्माले पार्टीभित्रको कानूनी विवाद अन्त्य भएसँगै अब सबैले मिलेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । अदालतको फैसलामा प्राविधिक वा आधारभुत विषयमा केही असहमति रहे पनि नेपाली काँग्रेस कानूनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले फैसलालाई स्वीकार गर्ने उहाँको भनाइ छ । नेता विमलेन्द्र निधीले पनि फैसला नमान्ने नभई फैसलाको आधारमा रहेका केही विरोधाभासपूर्ण विषयहरूमा मात्रै प्रश्न उठाएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अदालतको फैसला आएपछि अब पार्टीलाई एकताबद्ध बनाएर कसरी लैजान सकिन्छ भन्ने बारेमा हामीले परामर्श गरेका छौँ । यो कुनै आधिकारिक बैठक होइन, अनौपचारिक भेटघाट हो । पहिले शेरबहादुर देउवाको खुट्टामा रहेको बल अहिले सर्वोच्च अदालतले गगन थापाको खुट्टामा फालिदिएको छ । अब उहाँले नै पार्टीलाई कसरी एकतावद्ध बनाउने, कसरी ठूलो बनाउने र सबैलाई समेटेर एक ढिक्का हुने वातावरण सिर्जना गर्ने भन्नेमा विशेष पहलकदमी लिनुपर्छ ।’

उहाँले सर्वोच्चको फैसलापछि अब पार्टीको नेतृत्व विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको हातमा पुगेको उल्लेख गर्दै यसको राजनीतिक स्वामित्व पनि अब उहाँले नै लिनुपर्ने बताउनु भयो ।उहाँले पार्टीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको सुझाव र परामर्श लिएर अघि बढ्ने र यसका लागि केही समय लाग्ने बताउनु भयो । यसअघि दुवै पक्षले आ–आफ्ना गतिविधिहरूलाई तिब्रता दिए पनि अब अदालतको फैसला आइसकेपछि कानूनी विवादको पाटोसमेत टुङ्गिएको उहाँको भनाइ छ ।

–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)