काठमाडौं। झण्डै १० महिनापछि आज यती यरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ । कम्पनीले प्रत्येक आज एउटा उडान गर्नेगरी बुकिङ शुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । एयरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहनुभएका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बढेकाले अब प्रत्येक शनिबार एटीआर–७२ जहाजमार्फत दुई वटा पर्वतीय उडान हुने बताउनुभयो ।
“हाम्रो सगरमाथाकै उचाइ बराबरको भाडादरमा दुई वटा टिकट पाइने आकर्षक प्याकेज, सङ्क्रमणरहित उडानका लागि हामीले अपनाएका विधि र प्रक्रियाप्रति यात्रुको विश्वास बढेकाले हामीलाई अझ उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो । बिहान ७ः२० मा पहिलो उडान भरेको यतीले आज ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको थियो । नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीय नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः रु आठ हजार ८४८र र १३ हराज २७५ भाडादर तोकेको छ ।
पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् ।
अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो ।



