शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देशका विभिन्न भागमा बर्डफ्लूको सङ्क्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २६, २०८३
  • 69
    SHARES

काठमाडौँ –  देशका विभिन्न भागमा बर्डफ्लू (पन्छीजन्य रोग) को सङ्क्रमण देखिएपछि सरकारले प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ। पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले रोग पुष्टि भएका १० वटा जिल्लाका ७२ वटा फार्ममा रहेका करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए।

संक्रमणबाट सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुराहरू प्रभावित भएका छन्। सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ (र्‍यापिड रेस्पोन्स टिम) ले सङ्क्रमित क्षेत्रबाट ७ लाख वटा अण्डा र १८३ टन दानासमेत नष्ट गरेको छ।

महानिर्देशक दाहालका अनुसार केही हप्ताअघि झापा, मोरङ र सुनसरी जिल्लामा देखिएको बर्डफ्लू बिस्तारै महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लासम्म फैलिएको छ।

अहिले चितवन र मुलुकका अन्य भागमा भने रोग करिब-करिब नियन्त्रणमा आइसकेको भए पनि काठमाडौँ उपत्यका अझै बर्डफ्लूको उच्च जोखिममा रहेको विभागले जनाएको छ।

“यस रोगको निश्चित उपचार नै छैन। एकमात्र उपाय भनेको रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर थप क्षेत्रमा फैलिन नदिनु हो। त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीहरू अहोरात्र खटिएका छन्,” महानिर्देशक दाहालले भने।

थप सङ्क्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट गरिएको करिब दुई महिनापछि मात्रै किसानहरूले पुनः व्यवसाय सुरु गर्न पाउने कानुनी व्यवस्था रहेको छ।

बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी रोग नियन्त्रणका क्रममा पन्छीजन्य उत्पादन वा कुखुरा नष्ट गरिएका किसानहरूलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ।

लागत मूल्य जिल्लाअनुसार फरक-फरक पर्न सक्ने भएकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत उच्च पदाधिकारीहरूको बैठकले मूल्याङ्कन गरी राहत रकम तय गर्ने निर्णय गरिएको महानिर्देशक दाहालले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)