काठमाडौँ – भारत सरकारको सहयोगमा कालिकोटमा विद्यालय भवन निर्माण सुरु गरिएको छ ।
सान्नीत्रिवेणी गाउँपालिका–४ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
भारतीय राजदूतावासका अनुसार भारत सरकारको करिब ९ करोड ३० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिनेछ। परियोजनाको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत हुनेछ। यो कालिकोट जिल्लामा सञ्चालन हुन लागेको पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
शिलान्यास कार्यक्रममा सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सुविधा सम्पन्न शैक्षिक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव ले भिडियो सन्देशमार्फत परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना दिँदै नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्दै साझा विकास र समृद्धिका लागि भारत सरकार प्रतिबद्ध रहेको बताए।


भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन गरेको जनाएको छ। तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशमा रहेका छन्। साथै, कालिकोटमा ४ वटा एम्बुलेन्स र २ वटा विद्यालय बस प्रदान गरिएको छ भने कर्णाली प्रदेशभर स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई ५६ एम्बुलेन्स र १४ विद्यालय बस उपलब्ध गराइएको छ।
भारत र नेपालबिचको बहु आयामिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको उक्त परियोजनाले स्थानीय शिक्षा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धिलाई अघि बढाउने अपेक्षा गरिएको छ।
