काठमाडौँ- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरुले आगामी असार २० गतेभित्रमा निवेदन दिन सक्ने जनाएको छ ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आजको बैठकले छुटेका निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरुले असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो ।
पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुनुहुने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूमध्ये यही जेठ २८ गते राति १२ः०० बजेसम्म कुल छ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण ‘डिजिटल’ प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ ।
इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी जिल्लाका केही पालिकाहरु तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय आगामी असार ७ गतेसम्म कायम गरिएको छ ।
त्यस्तै कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य आगामी असार १० गतेसम्म कायम गरिएको छ । साथै क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य असार २० गतेसम्मका लागि कायम गरिएको छ ।
क्रियाशील सदस्यता नवीकरण गरी अद्यावधिक गरिएका र नयाँ क्रियाशील सदस्यता वितरण गर्दा शुल्क नबुझाएको भए त्यस्ता क्रियाशील सदस्यहरुलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गरिएको छ । तोकिएको शुल्क नबुझाउने क्रियाशील सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने समितिको निर्णय छ ।
विविध कारणले अद्यावधिक गर्न छुट हुन गएका वडाहरुले आफ्नो वडाभित्र क्रियाशील सदस्यता अद्यावधिक हुन बाँकी रहेका क्रियाशील सदस्यहरुको सङ्ख्या खुलाई सोको अद्यावधिकका लागि आवश्यक पर्ने समयावधि सात दिन नबढ्ने गरी केन्द्रीय कार्यालयको इमेलमा निवेदन दिन सकिने छ ।
क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणलाई कांग्रेसको १५औँ महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समय मिलान गरिदिन केन्द्रीय समितिमा सिफारिस गर्ने पनि समितिको निर्णय छ । समितिले कांग्रेसको विधानअनुसार ३५ वर्षमुनिका युवाहरुलाई क्रियाशील सदस्यता वितरण गर्न युवा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
