शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजनीतिलाई विशुद्ध सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता: सभापति थापा


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३१, २०८३
  • 116
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई विशुद्ध सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयले सामाजिक सेवामा महत्त्वपूर्ण योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको विशेष कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

सभापति थापाले सम्मानित व्यक्तित्वहरूले आफ्नो पेसा र क्षेत्रको विकासका लागि मात्र नभई समग्र लोकतन्त्रको जगलाई बलियो बनाउन समेत ठुलो योगदान पुर्‍याएको उल्लेख गरे।

सभापति गगनकुमार थापाले भने, “राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु नै अहिलेको आवश्यकता हो। हामी सबै मिलेर यो सकारात्मक बाटो निर्माण गर्नका लागि आ-आफ्नो ठाउँबाट केही न केही योगदान गरौँ।”

त्यस अवसरमा सम्मान ग्रहण गर्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले वडा कार्यालय भनेको नागरिकको सुखदुःखको सारथि भएको धारणा राखे। उनले वडाले सक्रिय जीवनपछि घरमा बसिरहेका नागरिकलाई समाजको सार्वजनिक स्थलमा ल्याएर यसरी सम्मान गर्नु निकै सराहनीय कार्य भएको बताए।

समाजको वास्तविक स्वरूप त्यस क्षेत्रमा बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी जस्ता पेसाकर्मी, ज्येष्ठ नागरिक, उद्यमी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको व्यक्तित्वले बिम्बित गर्ने हुँदा वडाले आयोजना गरेको यस सम्मान कार्यक्रममा विभिन्न विधाका ७० जना विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सबै पेसा र क्षेत्रमा अमूल्य योगदान दिने व्यक्तित्वहरू आफ्नो वडामा हुनुलाई आफूले वडाको ठुलो वैभव (सम्पत्ति) का रूपमा लिएको वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बताए। उनले भने, “हामीले कसैसँग प्रतिशोध लिएरभन्दा पनि स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरेर एउटा उन्नत समाजको निर्माण गर्नुपर्नेछ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)