काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले प्रहरीको गोली लागि स्थानीय एक युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र घटनाको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको प्रसङ्ग उल्लेख गर्दै, आज नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गर्नुभयो ।
नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नु पनि रहेको उल्लेख गर्दै उहाँले सरकार आफ्नो प्राथमिक दायित्वबाट विमुख हुन नमिल्ने बताउनु भयो । थापाले साम्प्रदायिक विद्वेष फैलाउने कुनैपनि प्रयास नेपालको संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने बताउनु भयो । नेपाली समाजको मुख्य शक्ति नै सद्भाव र सहअस्तित्व रहेको चर्चा गर्दै उहाँले कसैको उक्साहट वा घृणाको राजनीतिबाट प्रभावित नभई सामाजिक एकता र भाइचारा कायम राख्न सम्पूर्णमा अपिल गर्नुभयो ।
प्रमुख सचेतक थापाले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको छ ।
