आइतवार, साउन २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०८३
  • 33
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।

रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय पार्टी कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनेछन्। त्यहाँ मन्त्रीहरूले नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा नागरिक संवाद हुनेछ। उक्त समयमा आम नागरिकले मन्त्रीसमक्ष आफ्ना गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।

त्यसपछि साँझ ६ बजेबाट दोस्रो चरणअन्तर्गत नेतृत्व संवाद सञ्चालन हुनेछ। नेतृत्व संवादमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू सहभागी हुनेछन्। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका साथै देशका समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार कार्यक्रममार्फत नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीचको समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दालाई सम्बोधन गर्ने साझा रणनीति निर्माण गरिनेछ।

त्यस्तै, मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा नागरिक, पार्टी संगठन, संसदीय दल र सरकारबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)