काठमाडौँ – नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले रसुवाका दुर्गम तथा विकट क्षेत्रमा राहत सामग्री पुग्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराउनुभएको छ ।
शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँले राहत वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले नुवाकोटका तल्लो क्षेत्रहरूमा राहत केन्द्रित भएपनि रसुवाका माथिल्लो भेगहरू अझै उपेक्षित रहेको बताउनु भयो । राहत वितरणमा सिमित सामाजिक संस्थाहरू मात्र संलग्न गराइएकोमा आपत्ति जनाउँदै उहाँले राज्यले पहिचान गरेका र स्थानीय प्रशासनले विश्वास गरेका अन्य विश्वसनीय संस्थाहरूलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । कुनै एक संस्थाको मात्र भर पर्दा राहत पुग्न ढिलाइ हुने र पीडितहरू थप समस्यामा पर्ने उहाँको तर्क छ । उहाँले राहत सामग्री गोदाममा थुप्रिने वा बिग्रिने तर लक्षित वर्गसम्म नपुग्ने अवस्था सिर्जना हुन नदिन सरकारलाई सचेत गराउनुभएको छ ।
नेता आङदेम्बेले समयमै राहत नपुगे मानवीय क्षति बढ्न सक्ने चेतावनी दिँदै भन्नुभयो, ‘मानिसले खान नपाएर ज्यान गुमाइसकेपछि राहत पुग्नुको कुनै अर्थ रहँदैन । त्यसैले अहिलेकै अवस्थामा प्रभावकारी ढंगले सामग्री पु¥याउनुपर्छ । धुन्चेसम्म हेलिकप्टरबाट केही सामग्री पुगे पनि भौगोलिक रूपमा क्षतविक्षत भएका अन्य विकट स्थानमा सर्वसाधारणले राहत पाउन सकेका छैनन् । त्यहाँका जनप्रतिनिधि र स्थानीय साथीभाइहरूले राहत नपुगेको गुनासो बारम्बार गरिरहनुभएको छ ।’
राहत वितरण प्रक्रियालाई पारदर्शी र पहुँचयोग्य बनाउन स्थानीय प्रशासन र राज्य दुवैले विश्वसनीय ठहर गरेका संस्थाहरूलाई तत्काल जिम्मेवारी दिनुपर्ने उहाँको माग छ । –न्युज एजेन्सी नेपाल
