बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उद्धार र राहतको लागी रसुवा र नुवाकोटलाई १/१ करोड र धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 41
    SHARES

काठमाडौँ – रसुवाको भोटेकोसीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम पठाउने निर्णय गरेको छ ।

 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १÷१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रयोग गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उप्रेतीका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिम पहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउँदै सुरक्षा संयन्त्र परिचालन गरेको उहाँले जानकारी दिनुभयो । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी तथा रसुवागढी क्षेत्रमा ठुलो धनजनको क्षति पु¥याएको प्रारम्भिक जानकारी आएको उप्रेतीले बताउनुभयो । घटना लगत्तै विपद् कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नुवाकोट, रसुवा र धादिङ तीनै जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिलाई आपत्कालीन अवस्थाको लागि रकम पठाउने निर्णय गरेका छौँ । रसुवा र नुवाकोटलाई १÷१ करोड र धादिङ जिल्लामा ५० लाख रुपैयाँ हामी जिल्ला विपद् व्यवस्थापनका माध्यमबाट पठाउँदै छौँ । सरकार यसमा एकदम संवेदनशील छ, सरकार र सरकारको संयन्त्र यसमा लागिरहेको छ ।’

उहाँका अनुसार बाढीको जोखिमलाई न्यूनीकरण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान प्रणालीमार्फत बिहान ९ बजेर ५ मिनेटमा चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएसमार्फत सतर्कता सूचना पठाइएको उहाँले जानकारी दिनुभयो । बाढीको अवस्थालाई निरन्तर ट्रयाक गर्दै प्रत्येक आधा घण्टामा आवश्यकताअनुसार अलर्ट जारी गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उप्रेतीका अनुसार बाढी मलेखु पार गरेर अगाडि बढिसकेको छ ।

मुग्लिङ बजारसहित त्रिशूली नदीको कोरिडोरमा बाढीको प्रभाव पर्न सक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको उहाँले जानकारी दिनुभयो । बाढीका कारण जल तथा मौसम विज्ञान विभागको एउटा स्टेसनसमेत बगाएको उहाँले बताउनुभयो । पछिल्लो समय माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको प्रारम्भिक सूचना आएको पनि उहाँले जानकारी दिनुभयो ।  तिब्बततर्फको अस्थायी बाँध कमजोर भएर फुटिसकेकाले माथिबाट आउने बाढीको मात्रा क्रमशः घट्ने अपेक्षा गरिएको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)