बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योगी–व्यवसायीलाई दोषी देखाउने उद्योगमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार ः महासंघ


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०८३
  • 41
    SHARES

काठमाडौं  – नेपाल उद्योग वाणिज्य महासंघले ग्यास उद्योगीलाई लक्षित गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको बताएको छ ।

 

 

 

महासंघले एक विज्ञेप्ती जारी गरि सरकार र निजी क्षेत्रबीचको सम्बन्धमा असर पार्नेगरि उद्योगमन्त्री गौरीकुमारी यादवले आपत्तिजनक अभिव्यक्ति दिएको जनाएको हो । प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिनुभएको थियो । महासंघले मन्त्री यादवको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको जनाएको छ । ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गरी उपभोक्तालाई नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संवेदनशील अवस्थामा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने अभिव्यक्ति अनुचित भएको महासंघको भनाई छ । भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ग्यास बुलेटको ढुवानी प्रभावित भएको महासंघले जनाएको छ । मन्त्रीको अभिव्यक्तिले विपद्का बेला सरकारसँग सहकार्य गर्दै राहत, उद्धार तथा अत्यावश्यक वस्तुको आपूर्तिमा जुटिरहेका निजी क्षेत्रको मनोबल कमजोर पार्ने महासंघको भनाइ छ ।

‘निजी क्षेत्रलाई दोषारोपण गर्नुको सट्टा उद्योग स्थापना र सञ्चालनका अवरोध हटाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, लागत घटाउने र उत्पादन तथा रोजगारी विस्तारका लागि आवश्यक सुधार अघि बढाउन सरकार केन्द्रित हुनुपर्दछ’, महासंघले भनेको छ ।

निजी क्षेत्रलाई सार्वजनिक रूपमा लाञ्छित गर्ने अभिव्यक्तिले सरकार र निजी क्षेत्रबीचको विश्वासमा समेत असर पार्न सक्ने महासंघले ठहर गरेको छ । महासंघले मन्त्री यादवले दिएको ग्यास उद्योगको संख्या आवश्यकताभन्दा बढी रहेको, उद्योग खारेज गर्नुपर्ने वा दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको भन्ने अभिव्यक्ति पनि यथार्थपरक नभएको दाबी गरेको छ । महासंघले सरकारले उद्योग सञ्चालन गर्ने नभई अभिभावकीय, नियामकीय, सहजकर्ता र समन्वयकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेतर्फ पनि महासंघले ध्यानकर्षण गराएको छ । कानून तथा विधेयक निर्माणका क्रममा कर्मचारीतन्त्र र निजी क्षेत्रबीच अनुचित मिलेमतो हुने गरेको भन्ने मन्त्री यादवको अभिव्यक्तिप्रति पनि महासंघले आपत्ति जनाएको छ । नीति, ऐन तथा नियम निर्माणका क्रममा निजी क्षेत्रले दिने सुझाव र सहभागितालाई अनुचित प्रभाव वा मिलेमतोका रूपमा चित्रण गर्न नहुने महासंघको भनाई छ ।

निजी क्षेत्रलाई दोषारोपण गर्नुको सट्टा उद्योग स्थापना र सञ्चालनका अवरोध हटाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, लागत घटाउने तथा उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक सुधार अघि बढाउन सरकार केन्द्रित हुनुपर्ने महासंघले जनाएको छ । सरकार र निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभई आर्थिक विकासका साझेदार भएको उल्लेख गर्दै महासंघले आर्थिक संकटबाट मुलुकलाई बाहिर निकाल्न दोषारोपणभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र टकरावभन्दा संवाद आवश्यक रहेको जनाएको छ ।

‘निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, आर्थिक विकासको साझेदार हो । उद्योगी–व्यवसायीलाई लाञ्छित गरेर होइन, विश्वासमा लिएर मात्र उद्योग, उत्पादन, रोजगारी र अर्थतन्त्रलाई अघि बढाउन सकिन्छ । नेपालको अर्थतन्त्रलाई वर्तमान संकटबाट बाहिर निकाल्नुपर्ने यस संवेदनशील अवस्थामा दोषारोपण होइन सहकार्य, अविश्वास होइन विश्वास र टकराव होइन संवाद आवश्यक छ’, महासंघद्धारा जारी विज्ञेप्तीमा उल्लेख छ ।

महासंघले निजी क्षत्रेलाई हेर्ने, सोच्ने र बुझ्ने दृष्टिकोण परिवर्तन गर्न सरकारलाई आग्रह गरेको छ । निजी क्षेत्रलाई हेर्ने सोच परिवर्तन नभएसम्म देशको आर्थिक उनन्ती, प्रगति र सामाजिक रुपान्तरण हुन नसक्ने महासंघको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)