काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट भएको क्षति पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ४ दशमलब ७७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार नेपाली ४ खर्व ८ अर्व रुपैयाँ बराबरको क्षति भएको छ । उक्त क्षतिको पुननिर्माणको लागि ७ खब २३ अर्व नेपाली रुपैयाँ आवश्यक देखिएको उहाँले भनाई छ । उहाँकाअनुसार बाढी आएको लगत्तै १४ सदस्यीय प्राविधिक टोली गठन गरी ड्रोनसहितका माध्यमबाट क्षतिको विवरण संकलन गरिएको थियो । टोलीले १५ दिनमा द्रुत क्षति तथा आवश्यकता आकलन (¥यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट) प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनमा कृषि, वन, मत्स्य, पशुपंक्षी, सडक, पुल, विद्यालय, खानेपानीलगायत विभिन्न क्षेत्रमा भएको क्षति र पुनःस्थापनाका लागि आवश्यक रकमको क्षेत्रगत विवरण समेटिएको उहाँले बताउनु भयो । प्रतिवेदन विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त हुने सहयोगका लागि आधार बनेको उहाँको भनाई छ । उहाँले बाढी आएको पहिलो दिन नै प्रधानमन्त्री विपद् कोषबाट प्रभावित स्थानीय तहमा १३ करोड ५० लाख रुपैयाँ पठाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार दुई जिल्लामा एक–एक करोड र धादिङमा ५० लाख रुपैयाँ पठाइएको थियो ।
उहाँले भन्नुभयो, ‘हामीले बाढी आएको लगत्तै १४ सदस्यीय एउटा टेक्निकल टिम बनाएका थियौँ । त्यो टिमले कति क्षति भएको छ भनेर ड्रोन परिचालन गरेर १५ दिनमा द्रूत क्षति तथा आवश्यकता आकलन आरडिएनइ ¥यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट रिपोर्ट हामीले प्रकाशित गरेका छौँ । यो रिपोर्टले हामीलाई अन्तराष्ट्रियसंघसंस्थाबाट विकास साझेदारबाट नेपाललाई प्राप्त हुने सहयोगको लागि पनि एउटा आधारस्तम्भ पनि बनेको छ । हाम्रो अनुमानित पुनर्निर्माणको लागि ४.७७ बिलियन अमेरिकी डलर बराबरको रकम आवश्यक पर्छ भन्ने छ ।’
उहाँले बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनको काम जारी रहेको जानकारी दिनुभयो । गल्छी–देवीघाट–ढुंगे–त्रिशूली खण्डमा यातायात सुचारु भएको र विदुर–बेत्रावती खण्डको १० किलोमिटरमध्ये ९.२ किलोमिटर सडक खुलिसकेको र बाँकी सडक खुलाउने काम जारी रहेको जानकारी दिनुभयो । यस्तै देवीघाट, इन्द्रेणीचौर र स्यार्पुबेंसीमा तीनवटा तुइन निर्माण गरिएको र थप दुईवटा तुइन सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । असोजभित्र २० वटा झोलुंगे पुल मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ । उहाँकाअनुसार पाँचवटा पुलको मर्मत भइरहेको छ भने बाँकी १५ पुलको मर्मतका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । आवश्यक नयाँ झोलुंगे पुलको डिजाइन तथा निर्माणका लागि पनि टेन्डर प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
चार जिल्लामा अस्थायी आवासको आवश्यकता
प्राधिकरणले नुवाकोट, रसुवा, धादिङ र चितवनमा बाढी प्रभावित २ हजार २७ परिवारको अस्थायी आवास आवश्यक पर्ने जनाएको छ । अस्थायी आवास आवश्यक सम्बन्धी आवश्यकता पहिचान गर्न गरेको सर्वेक्षणअनुसार ८०.६ प्रतिशत परिवार सरकारी सहयोगमार्फत अस्थायी आवासमा बस्न इच्छुक रहेका छन् । ६६.९ प्रतिशत परिवार भाडामा बस्नसमेत तयार रहेको पाइएको उहाँले बताउनु भयो । अस्थायी संरचना निर्माणका लागि आफ्नै जग्गा भएका परिवारको संख्या २५.३ प्रतिशत मात्रै रहेको उहाँको भनाई छ । बाढी प्रभावित क्षेत्रबाहिर वैकल्पिक घर भएका परिवार ८ प्रतिशत मात्रै छन् । सर्वेक्षणमा ३ देखि ६ सदस्य भएका परिवार ७४.६ प्रतिशत रहेको पाइएको छ । सोही आधारमा अस्थायी आवासको डिजाइन गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अस्थायी आवासको सन्दर्भमा हामीले गरेको सर्वेक्षणमा नुवाकोट, रसुवा, धादिङ, चितवन गरी चार जिल्लामा २०२७ बाढी प्रभावित परिवारहरुको व्यवसाय बसोस्थान र आवश्यकता पहिचान गर्ने उद्देश्यले यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षण गरिएकामध्ये ८०.६ प्रतिशत परिवार कुनै न कुनै माध्यमबाट सरकारी सहयोगमा अस्थायी आशयमा बस्न इच्छुक रहेको आएको छ भने दुईतिहाई भन्दा बढी ६६.९ प्रतिशत परिवार अझै भाडामा बस्न पनि तयार रहेको भन्ने आएको छ । २५.३ प्रतिशत परिवारसँग मात्रै अस्थायी संरचना निर्माणको लागि आफ्नै जग्गा उपलब्ध छ । ८ प्रतिशतसँग मात्र बाढी प्रभावित क्षेत्रबाट बाहिर वैकल्पिक घर रहेको भन्ने पनि हाम्रो सर्भेमा देखिएको छ । ३ देखि ६ जना सदस्य भएका परिवार बहुसंख्यक खास गरेर ७४.६ प्रतिशत रहेकोमा सोही अनुसारको संरचनाको डिजाइन ध्यानमा राखी गर्नुपर्ने देखिन्छ । ठूलो परिवारको लागि अब नौ सदस्यीयको लागि छुट्टाछुट्टै व्यवस्था पनि हामीले गरिराखेको अवस्था छ ।’
उहाँले बाढी प्रभावित क्षेत्रमा ३५ वटा अस्थायी सिकाइ केन्द्र तथा कक्षाकोठा स्थापना गरिएको जानकारी दिनुभयो । अस्थायी सिकाइ केन्द्र स्थापनाका लागि पर्याप्त जग्गा नहुँदा समस्या परेको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल
