सोमवार, अशोज ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तर निकाय समन्वयको कमी ग्यास अभावको मुख्य कारण: सरकार


  • माउन्टेन खबर
  • सोमवार, अशोज ५, २०८३
  • 26
    SHARES

काठमाडौं–  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको अभावको समस्याबारे सरकारले आपूर्ति प्रणालीसँग जोडिएका बहु आयामिक कारणबारे विश्लेषण गरिरहेको बताउनुभएको छ ।

 

 

 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री साहले यस्तो बताउनुभएको हो । उहाँले बजारमा ग्यास अभावका कारण आम नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार गम्भीर रहेको पनि बताउनु भयो । उहाँले उहाँले ग्यास अभावसहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले निरन्तर काम गरिरहेको दाबी पनि गर्नुभयो । ग्यास अभावको समस्याको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायाग्राम’ प्रयोगमा ल्याएको उहाँले जानकारी दिनुभयो । उक्त विश्लेषणले ग्यास अभावमा आपूर्ति, पूर्वाधार, आर्थिक तथा नीतिगत पक्ष, कानुन, वितरण प्रणाली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणको संयुक्त प्रभाव रहेको देखाएको मन्त्री साहको भनाइ छ । उहाँकाअनुसार ग्यास आपूर्तिमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख समस्याका रूपमा देखिएका छन् । यी विद्यमान कारणका कारण माग र आपूर्तिबिच असन्तुलन सिर्जना भएको उहाँले बताउनु भयो । उहाँले ग्यासको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तर निकाय समन्वयको कमीले समेत ग्यास आपूर्ति व्यवस्थापनमा बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आम नागरिकले एलपी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहेको कठिनाइप्रति सरकार निकै गम्भीर छ । र सरकार ग्याससहितको समस्या समाधान निरन्तर लागिरहेको छ । समस्याहरूको मूल कारणहरू पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको एक उपकरण फिसबोन डायग्राम सञ्चालनमा ल्याएको छ । यस उपकरणले ग्यास अभावको समस्यालाई कुनै एउटा कारण वा एउटा निकायको कमजोरीको रूपमा नभई आपूर्ति, पूर्वाधार आर्थिक, नीतिगत, तथा कानुन, वितरण प्रणाली तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षहरूको जोडिएको संयुक्त कारणहरूको रूपमा देखाएको छ । विभिन्न कारक तत्त्वमध्ये आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण रिफिलिङ, डिलर सेवा केन्द्रको असमान वितरण, खाली सिलिन्डर फिर्तामा ढिलाई र सो का कारण माग र आपूर्तिमा असन्तुलन भएको देखिएको छ । कालोबजारी, डिजिटल ट्र्याकिङ नहुनु र अन्तर निकाय समन्वयको अभावका कारण बढी जिम्मेवार देखिन्छन् । टेक्नोइकोनिमिक इन्जिनियरको रूपमा मैले यो सङ्कटलाई कति सिलिन्डर आयो भन्ने प्रश्नमा मात्र सीमित राखेको छैन । लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय रिफिलङ क्षमता, वितरणको भौगोलिक असन्तुलन, मूल्य, सुरक्षालाई पनि आपूर्तिको सूचकका रूपमा हेरिएको छ ।’

उहाँले ग्यास आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाउन सबै शक्ति परिचालन गरिरहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)