गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत सम्पन्न भइसकेको छ। सोही सडकखण्डअन्तर्गत देवीघाटमा एक्रो ब्रिजसमेत जडान गरिएको छ।
विदुरमा क्षतिग्रस्त सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङमार्फत नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ। यस्तै, रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडानका लागि फाउण्डेसन निर्माणको काम अघि बढाइएको छ।
बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकखण्डमा भने ठूलो समस्या नरहेको जनाइएको छ। स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएकाले त्यसको तयारी भइरहेको छ।
तर, स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडकखण्ड भने बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको छ। उक्त क्षेत्रमा नयाँ सडक निर्माणका लागि सर्वेक्षणको काम सुरु भइसकेको छ।
सरकारले तत्काल यातायात सञ्चालन गर्ने गरी अस्थायी संरचना निर्माणसँगै दीर्घकालीन रूपमा स्थायी सडक निर्माण गर्ने तयारीसमेत गरेको छ। बाढीबाट क्षतिग्रस्त सडकको पुनःनिर्माणलाई तीव्रता दिँदै रसुवागढीसम्मको सडकलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउने सरकारको योजना छ
