सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

श्राद्धसमय र सोह्रश्राद्ध


  • आचार्य हरिप्रसाद काफ्ले शैव , बोष्टन , अमेरिका
  • सोमवार, अशोज १२, २०८३
  • 24
    SHARES
श्राद्धसमय र सोह्रश्राद्ध शुरु
– यो प्रसंगलाई यौटा ठूलै किताबको रुपमा तयार गर्नुपर्ने हो तर यहां संक्षिप्त चर्चा गरौं है त । “ श्रद्धया दीयते यत् तत् श्राद्धम्”यति सजिलोसंग रिषिहरूले भनिदिनुभएको छ । हामी जन्मदै धेरै प्रकारका रिणले युक्त हुन्छौं, ती मध्ये पितृ रिण, देव रिण र रिषि रिण(गुरु रिण) ज्यादा महत्त्वपूर्ण हुन् । कृतज्ञ / आभारी हुनु भनेको झुक्नु होइन बरू जीवनको अनुशासन सिक्नु हो । साथीहरूले लगाएको रिण/ गुण तिर्न नजानेपनि भगवानले दिएको यो जीवन र मातापिताले जन्माएर हुर्काई बढाई गर्दाको संघर्ष, त्यो भित्री अमूल्य माया, जीवनको सुरुआतीमा सिकाएका अमर ज्ञानको रिण कहिल्यै तिरेर सकिन्न तरपनि आफ्नो कर्तव्य वा धर्म भनेकै कोशिस गर्नु हो ।
बाचुंजेल कति सेवा गर्न सकियो सकिएन , ती वृद्ध बाउआमाले भनेको बेला वहारूको इच्छा पूरा गर्न सकियो कि सकिएन, आफू जति योग्यभएपनि मातापिताभन्दा ठूलो हुन सकिन्न, वहांहरूको देहान्त भैसकेपछि सपनामा प्रत्यक्ष आएर वा अप्रत्यक्ष आशीर्वाद दिएर नै हामी आफूले गरेको काममा सफलता मिलेको हो , जीवनमा खुशी थपिएको हो , त्यसैले अत्यन्त सहृदयी भएर देहान्तको तिथिमा श्रद्धापूर्वक तर्पण( जलदान), सिधा( सिधादान) र पीण्ड(पीण्डदान) गर्नुपर्छ भनेर हाम्रा रिषि मुनिहरूले बताउनुभयो र त्यसैलाई पछि लिखितरूपमा शास्त्रहरूले साभार गरे ।
विश्वास र विधिपूर्वक श्रद्धाले श्राद्ध गर्दा तिनीहरूको परिवारमा देखिएको खुशी र शान्तिले नै यो संस्कार आजसम्म जीवित छ । यसरी पितृ रिण तिर्न मात्रै भएपनि वार्षिक तिथि र वडादशैं जस्तो ठूलो पर्वको समयमा गरिने पार्वणश्राद्ध गर्नु जरुरी छ । सूर्य कन्या राशिमा जांदा आश्विन/ असोज महिनामा कृष्णप्रतिपदादेखि औंशीसम्म पन्ध्र दिन नै श्राद्धका लागि शास्त्रले तोकिएका तिथि हुन् , शायद मातामहादिलाई पनि जोडेर सोह्रश्राद्ध भनिएको हुनसक्छ किनभने अहिले यो वर्ष पनि यता अमेरिका क्यानडातिरको समयानुसार प्रतिपदा तिथि श्राद्धको लागि थोरै भएकोले प्रतिपदाको श्राद्ध २६ तारिख शनिबार बाह्र बजेछि गर्ने निर्णय दिव्यदृष्टि पंचांग( पात्रो)ले दिएको छ , यसरी सेप्टेम्बर २६ देखि अक्टुबर १० ता औंशीको दिनसम्म गन्दापनि १५ दिन नै हुन्छन् ।
– यहींनेर यौटा कुरा प्रष्ट पार्न आवश्यक देखियो , त्यो के भने – पृथिवीले सूर्यलाई पश्चिम दिशाबाट घुम्ने हुंदा पृथ्वीसंगसंगै चन्द्रमाले पनि सूर्यलाई घुम्ने गर्छन् , यसरी चन्द्रमा पृथ्वीलाई घुम्दै गर्दा सूर्यसंग १२ डिग्रीको दूरी हुंदा यौटा तिथि निर्माण हुने हाम्रा वैज्ञानिक रिषिमुनिहरूले बताएका हुन् , पृथ्वीलाई ३६० डिग्रीमा बिभाजन गरेर चन्द्रमाले पृथ्वीलाई घुमिरहंदा सूर्यसंग १२ डिग्रीको दूरीका दरले तिथि बनाउंदा एक महिनामा ३० वटा तिथि बनेका हुन् , चन्द्रमाको पथ/ बाटो एकनाशको नहुने भएकोले गति पनि एकैनाशको नहुनाले तिथिहरू पनि एकनाशका हुंदैनन् , कुनै तिथि धेरै घडीका त कुनै साह्रै थोरै घडीका पनि हुन्छन् । नेपाल र अमेरिका झन्डै १२ घन्टाको फरकमा हुनुभनेको ३० घडीको फरक हो , नेपालको पात्रोमा लेखिएको तिथिको समयावधिमा जति घडी लेखिएको छ त्यसमा ३० घटाउंदा अमेरिकाको न्यूयोर्कको समय अनुसारको तिथि बुझ्न सकिन्छ , सबैभन्दा सजिलो त गुगुलमा द्रिक पंचांग अनि आफ्नो ठेगाना लेखेर तिथि टाइप गर्दा लगभग सधैंजसो मिल्छ , यस बारेमा पुन: अर्को विस्तृत लेख प्रस्तुत गरौंला अहिलेलाई यत्ति बुझौं कि कर्म अनुसारको फल पाउन तिथि गल्ती हुनुभएन , गल्ती नगरौं , जिज्ञासा भएमा सेवा गर्न तयार छु। ।
चन्द्रमाले पृथिवीलाई घुम्दा सरदर २८ दिन जति लाग्छभने पृथ्वीले सूर्यलाई घुम्न एक वर्ष लाग्छ । तिथि त चन्द्रमा र सूर्यको कारणले पृथ्वीमा हुनेहुंदा औंशी पूर्णे जस्ता फरक फरक छन् । अझ संक्षेपमा भन्नुपर्दा यसरी पृथ्वी पश्चिमबाट पूर्व हुंदै विशाल सूर्यलाई घुमिरहने क्रममा पश्चिमतिरबाट नै चन्द्रमाले पनि सूर्यलाई घुम्ने वा सूर्यबाट १२ डिग्रीको दूरीमा जाने बित्तिकै नयां तिथि पहिला पश्चिमतिर ( अमेरिका क्यानडातिर रातिमै नयां तिथि हुनेभए किनभने चन्द्रमाको उदय अस्त पनि त्यसै अनुसार हुनेभयो ) तर शुक्र ग्रह भने पूर्वबाट पश्चिम हुंदै परिक्र्मा गर्छन् है । हाम्रा पितृहरू सोह्रदिनसम्मका लागि आफ्ना ती पुराना घर( महा+आलय) आउने हुंदा महालय श्राद्ध पनि भनियो ।
स्मरण रहोस्
– प्रतिपदादेखि औंशीसम्म हरेक दिन श्राद्ध गर्ने चलन कतै कतै अझैपनि छ तर गृहस्थाश्रममा त्यसरी १५/ १६ दिनसम्म समय मिलाउन गाह्रो भएकोले बितेको तिथिमा विधिपूर्वक राम्रोसंग गर्ने चलन चलेको हो , भनिन्छ यो पार्वणको समयमा ती पितृहरू आफ्ना छोरा छोरीहरू बुहारीहरू वा नातिहरू जहांजहां छन् त्यहांत्यहां छिन्छिन्मा पुग्ने गर्छन् हावाभन्दा छिटो, हावा जस्तै नदेखिने बनेर । एक टिपोट अनुसार यो समयमा आफन्तहरूले पितृलाई देखेको सपना र अन्य घटनाका आधारमा विश्लेषण गरिएको छ कि ती मुनिवाक्य शाश्वत हुन् ।
– यस्ता श्राद्धहरूमा आभ्युदायिक श्राद्ध जसलाई नान्दीमुखले बुझिन्छ , यो पीण्ड नदिने तर विधि भने श्राद्धको जस्तै छ , यो दिनको बाह्र बजेभित्र गर्नुपर्छ । बिवाह,व्रतबन्ध , घरपूजा जस्ता सबैजसो शुभकर्महरूमा गर्नुपर्ने हो, त्यसैले नै यसको नाम आभ्युदायिक( शुभफलको उदय गराउने) हो । वार्षिक तिथिमा गरिने श्राद्धलाई एकोतिष्टि भनिन्छ , यो श्राद्ध सुरु जति बेला गरेपनि पीण्डदान चै बाह्रबजे वा त्यसपछि दिनुपर्छ, त्यसै गरी पार्वण/ सोह्रश्राद्ध भने अपह्रान्नकालमा गर्नुपर्छ भनेको चैं सूर्यास्तभन्दा पहिला बाह्रबजे( मध्यान्नकाल)पछि मात्र दिनुपर्छ । तर आजकाल व्यस्त जीवनको बाबजुदपनि श्राद्ध गर्ने मन भएकोले आफ्नु अनुकूल समयमा गर्ने चलन आएको छ , जुन समयानुसार बुझ्न सकिन्छ र त्यसको फलपनि त्यसै अनुसारको मध्यम नै हुन्छ भन्न सकिन्छ । त्यसैगरी श्राद्धका अरु केही विशेष नियम हुन्छन् ,जस्तै – तर्पण नदिएसम्म श्राद्धकर्ताले सकेसम्म पानी पनि नपिउने, तर पानीसम्म पिएपनि अरु चीज नपिउने / नखाने , घरपूजा( गृहवास्तुपूजा)विधिवत गरेको हो भने घरको तल्लो तलामा गर्ने नत्र घरबाहिर गर्ने,
– पीण्ड पकाउने भांडो फलाम नमिसिएको( पियोर पित्तल वा तामाको) होओस् , पुरोहित( गुरु वा पंडितजी) ले शुद्ध उच्चारणसंग विधिलाई नछोडिकन गराउने,यजमान( कर्ता) ले पनि पुरोहित( गुरुजी)लाई सन्तुष्ट हुने गरी खुशी बनाउने, यसको अर्थ आर्थिक क्षमता कमजोर छ भनेपनि श्रद्धापूर्वक सम्मानजनक भाषा र व्यवहारले गुरुलाई खुशी पार्ने तर आर्थिक अवस्था राम्रो छ भने गुरुलाई नहेपिकन प्रसन्न मुद्रामा, हसिलो अनुहार हुनेगरी पंडितजीलाई खुशी पार्ने !
– मन्दिरमा गएर श्राद्ध गर्ने भनेको , या त अन्यत्र कतै गुरु नपाएर हो या कतै तीर्थ घुम्न गएको अवसरमा हो , आफ्नो घर वा भाडामा बसिरहेको मान्छे मन्दिर नजिक छन् भनेर श्राद्ध गर्न जानु हुंदैन किनभने मन्दिर भनेको पितृभन्दा अन्य भगवानहरू बस्ने ठाउं हो । पीण्ड त अझ घरबाहिर चोखो दाउराले पकाएको चोखो/ शुद्ध मानिन्छ ।
– एकोतिष्टि श्राद्ध जसले गर्यो उसैले सोह्रश्राद्ध गर्नु उत्तम हो तर कुनै विशेष कारणले सकिएनभने दाजुले भाइलाई अनुरोध अनुमति दिएर गर्न गराउनसकिन्छ तर अरु दाइभाइ पर्ने या काका बडाबाले गरिदिनु राम्रो होइन !
– स्मरण रहोस् , दाजुभाइ छुट्टाभिन्न भएर बस्छन् , भान्सा र घरधुरी पनि फरक फरक नै छन् भने बाआमाको श्राद्ध पनि छुट्टाछुट्टै गरेको झन् राम्रो हो !
– घरमा गरिने ग्रहपूजा , रुद्री र सत्यनारायणको पूजा जस्तै गरेर आफन्त, छिमेकी, भान्जाभान्जी , ज्वाइहरू सबैलाई निम्तो गरेर धूमधामसंग श्राद्ध गर्नुपर्छ जसले गर्दा कर्ता आंफैलाई जीवित र पितृहरू सबैको आशीर्वाद मिलोस् !!
– “ श्राद्धकर्ताले पितृगायत्री याद गरेर शुद्धसंग भन्नसक्ने भएको राम्रो हो – “ देवताभ्य पितृभ्यश्च महायोगिभ्य एव च । नम: स्वाहायै स्वधायै नित्यमेव नमो नम:॥”
– त्यसै गरी पंडितजीले चैं जिब्रोलाई न अत्याइकन विस्तारैसंग जानेसम्म उदात्त अनुदात्त स्वरित लघु दीर्घ प्सुत जस्ता स्वरसहित गल्ती नगरिकन मन्त्रहरू पढिदिनुपर्छ र त्यसै अनुसार मोटक र पवित्रहरूको काम गराउनुपर्छ अन्यथा गरुढपुराणमा भनेझैं -“
– अपात्रे सा गौर्दत्ता दातारं नरकं नयत् ॥
– कुलैकशतसंयुक्तं गृहीतारं तु पातयत्! नापात्रे विदुषा देया ह्यात्मन: श्रेय इच्छता॥””यसको संझेपमा अर्थ हो कि – अशुद्ध ब्राह्मणलाई गाइदान वा अरु दान गरियोभने दातालाई पनि नरक लैजान्छ जब कि आफू पंडितजीले चैं आफ्नो १०१ कुललाई समेत नरकको भोग गराउंछन् । त्यसैले सकेसम्म पंडित पनि पहिचानेर मात्र कर्म गराउनुपर्छ , र पंडितजी पनि बडो सचेत भएर कर्म गराउनुपर्छ “।
– अनादिनिधनो देव: शंखचक्र गदाधर:।
– अक्षय्य: पुण्डरीकाक्ष: पितृमुक्तिप्रदो भव॥
– अन्त्यमा , जुन घरमा पितृको लागि यस्ता श्राद्ध गरिंदैन त्यो घरमा कुनै भगवानहरूको आगमन हुंदैन, त्यसैले भनिन्छ- “दैवले दिएको पितृले खोस्छन्” ! पितृदोष भनेको पनि यस्तै हो । मरण भएदेखि उचित ढंगबाट दाहसंस्कार , दशगात्रकर्महरू( उर्ध्वदैहिककर्महरू) र वर्ष दिनसम्मका मासिकाहरू र उल्लिखित श्राद्धहरू राम्ररी नगर्दा हुन जाने पारिवारिक समस्या र मानसिक असन्तुलनहरू हुन् । यसर्थ घटनाका कारणहरू जे जस्ता देखिएपनि सूक्ष्म रुपमा पितृ र दैवी कारण नै हुन् , प्राकृतिक विपत्तिहरू पनि मान्छेले आफ्नो धर्म , कर्तव्य र अनुशासन बिर्सेर प्रकृतिको नियम विपरीत जाने हुंदा त्यसैको असर जम्मा भएर अचानक जस्तो देखिने घटना घटित हुन्छन् तर ती अचानक होइनन् , विगतमा हामीले गरेका गल्तीहरूको परिणाम नै हो । यसैलाई नियमित आकस्मिकताको सिद्धान्त भनिन्छ ।
– आचार्य हरिप्रसाद काफ्ले शैव
बोष्टन , अमेरिका ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)