क्षेत्रीय ऊर्जा सुरक्षामा चुनौती थपिएसँगै इराकका लागि आवश्यक पेट्रोलको ढुवानी सिरियाको बानियास तेल टर्मिनल हुँदै शुरु भएको छ । सिरियाली राज्य सञ्चालित समाचार एजेन्सी सानाकाअनुसार तीन महिने नवीकरणीय सम्झौता अन्तर्गत सिरियाले आफ्नो भू–भाग प्रयोग गरेर इराकलाई इन्धन आपूर्ति गर्न थालेको हो ।
सिरियाली पेट्रोलियम कम्पनीका उप–कार्यकारी अध्यक्ष अहमद कब्बाजीकाअनुसार बिहीवारदेखि शुरु भएको यो अभियान अन्तर्गत हाल ५७ वटा ट्यांकरमार्फत इन्धन ढुवानी भइरहेको छ । निकट भविष्यमै यो संख्या बढाएर दैनिक २०० ट्यांकर पु¥याउने र अल–तन्फ सीमा नाका हुँदै इराक पु¥याउने योजना रहेको छ । कतारी कम्पनी युसीसीसँगको सम्झौताअनुसार यो ढुवानी प्रक्रिया अघि बढेको हो । यो आयोजनामा कतारी कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय स्रोतबाट पेट्रोल खरिद गर्ने र सिरियाले सो इन्धन आफ्नो बानियास टर्मिनलबाट इराकको सीमासम्म ढुवानी गरिदिने व्यवस्था छ । यसबापत सिरियाले पारवहन शुल्क प्राप्त गर्नेछ। हाल बानियास टर्मिनलमा आठवटा लोडिङ बेहरू २४ सै घण्टा सञ्चालनमा छन्, जसले इन्धन ढुवानी कार्यलाई सहज बनाएको छ ।
सिरियाले केवल इन्धन ढुवानी मात्र नभई अरब ग्यास पाइपलाइनको मर्मत कार्यलाई पनि तीव्रता दिएको छ । करिव १५ दिनभित्र यो पाइपलाइन सिरिया–जोर्डन सीमा र लेबनानतर्फको शाखा जोड्न तयार हुने कब्बाजीले जानकारी दिए । यसले सिरियालाई क्षेत्रीय ऊर्जा कोरिडोरका रूपमा स्थापित गर्न थप मद्दत पुग्नेछ ।
वर्षौँ लामो द्वन्द्व र एक्लोपनाबाट गुज्रिएको सिरियाको अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेतहरू देखिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२५ देखि सिरियाको अर्थतन्त्रले गति लिएको र सन् २०२६ मा १० प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुनसक्ने प्रक्षेपण गरेको छ । क्षेत्रीय अर्थतन्त्रमा पुनः जोडिन थालेको सिरियाका लागि यो पारवहन परियोजना रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ ।
