इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासबीच गाजामा जारी युद्धविरामलाई सुदृढ बनाउने तथा राजनीतिक समाधानतर्फ अघि बढ्ने प्रयासबारे छलफल भएको छ ।
इजिप्टको राष्ट्रपतीय कार्यालयकाअनुसार कायरोमा भएको भेटवार्तामा राष्ट्रपति अल–सिसीले प्यालेस्टिनी अधिकार सुनिश्चित गर्ने न्यायपूर्ण र व्यापक राजनीतिक समाधानप्रति इजिप्टको समर्थन दोहो¥याउनुभएको छ । उहाँले प्यालेस्टिनी अधिकार सुनिश्चित गर्ने सम्झौता नभएसम्म यो मुद्दा क्षेत्रीय राजनीतिमा केन्द्रमा रहिरहने बताउनु भयो ।
गाजामा युद्ध अन्त्य गर्न सन् २०२५ को अक्टोबरमा भएको शर्म अल–शेख शान्ति शिखर सम्मेलनको सम्झौता कार्यान्वयनका लागि मध्यस्थकर्ताहरूसँग मिलेर इजिप्टले निरन्तर काम गर्ने पनि उहाँले बताउनु भयो ।
अल–सिसीले सबै पक्षलाई सम्झौताको पालना गर्न, तनाव बढाउने गतिविधि रोक्न तथा मानवीय सहायता सहज रूपमा गाजासम्म पु¥याउन आग्रह गर्नुभयो । साथै, गाजाको शीघ्र पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
इजिप्टले प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने वा उनीहरूको राष्ट्रिय मुद्दालाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार गर्ने आफ्नो धारणा पनि अल–सिसीले दोहो¥याउनु भयो । उहाँले प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणप्रति समर्थन व्यक्त गर्दै प्यालेस्टिनी राजनीतिक समूहहरूबीच सहमति कायम गर्ने प्रयासलाई पनि समर्थन गर्नुभयो ।
राष्ट्रपति अब्बासले प्यालेस्टिनी अधिकारको संरक्षण तथा न्यायपूर्ण र दीर्घकालीन समाधानका लागि इजिप्टले गर्दै आएको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले लामो समयदेखि प्यालेस्टिनी मुद्दामा इजिप्टले निर्वाह गर्दै आएको समर्थनकारी तथा मध्यस्थकर्ताको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।
अब्बासले पछिल्लो अवस्थाबारे अल–सिसीलाई जानकारी गराउँदै पश्चिम किनाराको बिग्रँदो सुरक्षा तथा मानवीय अवस्थाबारे पनि चर्चा गर्नुभयो । अब्बासले उक्त अवस्थाका लागि इजरायली कब्जासम्बन्धी नीतिहरूलाई जिम्मेवार ठहराउनुभएको छ ।
दुवै राष्ट्रपतिले प्यालेस्टिनी क्षेत्र तथा व्यापक मध्यपूर्वमा भइरहेका घटनाक्रमबारे सबै तहमा राजनीतिक समन्वय र परामर्श थप तिब्र बनाउने सहमति गरेका छन् ।
