शुक्रबार, अशोज २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अस्ट्रेलिया सरकारले आप्रवासन घटाउन भिसा नियममा व्यापक परिवर्तन गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २, २०८३
  • 33
    SHARES

अस्ट्रेलिया सरकारले आप्रवासीको संख्या घटाउने उद्देश्यले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई दिइने भिसामा कडाइ गर्ने भएको छ ।

 

 

 

 

गृहमन्त्री टोनी बर्कले बिहीवार नेशनल प्रेस क्लवमा सम्बोधन गर्दै नयाँ आप्रवासन नियमहरू घोषणा गर्नुभएको हो ।

सरकारले चालु आर्थिक वर्षमा शुद्ध वैदेशिक आप्रवासनलाई २ लाख ४५ हजारमा सिमित गर्ने र सन् २०२७–२८ सम्ममा यसलाई २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको उहाँले बताउनु भयो । यो घोषणा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको नयाँ तथ्यांक सार्वजनिक भएकै दिन भएको हो ।

तथ्यांकअनुसार मार्चसम्मको एक वर्षमा शुद्ध वैदेशिक आप्रवासनले अस्ट्रेलियाको जनसंख्यामा २ लाख ९२ हजार १०० जना थपेको छ । अघिल्लो १२ महिनामा यो संख्या ३ लाख ९ हजार ५०० थियो ।

नयाँ नियमअनुसार अस्ट्रेलियामा अध्ययन गर्न भिसा पाएका अन्तर्राष्ट्रिय विद्यार्थीले अब स्वतः आफ्ना परिवारका सदस्यलाई आफूसँगै ल्याउन पाउने छैनन् ।

सरकारी तथ्यांकअनुसार सन् २०२५–२६ मा अस्ट्रेलियाले कुल ३ लाख ३७ हजार ४२७ वटा विद्यार्थी भिसा जारी गरेको थियो। तीमध्ये ४५ हजार ९९१ वटा भिसा मुख्य आवेदकका आश्रित वा परिवारका सदस्यका लागि थिए । तर अस्ट्रेलियामा अध्ययन गरिरहेका र हालै आफ्नो भिसामा परिवारका सदस्य समावेश गरिसकेका विद्यार्थीलाई नयाँ नियमबाट छुट दिइनेछ ।

त्यस्तै, प्रशान्त क्षेत्र तथा आसियान देशका विद्यार्थी र पीएचडी विद्यार्थीहरू पनि यस परिवर्तनबाट प्रभावित नहुने बर्कले बताउनु भयो ।

सरकारले एउटै देशमा लामो समय बस्नका लागि पटक–पटक अध्ययनको विषय वा कोर्स परिवर्तन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमाथि पनि निगरानी बढाउने भएको छ । बर्कका अनुसार नयाँ नियमले विद्यार्थीलाई अस्ट्रेलियामा बसाइ लम्ब्याउनका लागि उच्च तहको योग्यता हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने व्यवस्था गर्नेछ ।

त्यसैगरी, भिसाको अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहने व्यक्तिहरूको निगरानी तथा कानुनी कार्यान्वयनका लागि थप १०० जना अनुपालन अधिकारी नियुक्त गरिनेछ ।

दक्ष कामदारको भिसा आवेदन मूल्यांकन गर्ने क्रम पनि परिवर्तन गरिने भएको छ। निर्माण र कृषि लगायत कामदारको आवश्यकता बढी भएका क्षेत्रमा आवश्यक सीप भएका आप्रवासीलाई प्राथमिकता दिइने बर्कले बताउनु भयो ।

सरकारले वर्किङ होलिडे भिसा कार्यक्रमलाई पनि पुनर्संरचना गर्दै दोस्रो र तेस्रो वर्षको भिसाका लागि ‘बलट’ अर्थात् छनोट प्रणाली लागू गर्ने भएको छ । हाल १२ महिनाको वर्किङ होलिडे भिसा पाएका व्यक्तिले क्षेत्रीय क्षेत्रमा ८८ दिन काम गरेपछि स्वतः दोस्रो वर्ष र त्यसपछि थप छ महिना क्षेत्रीय क्षेत्रमा काम गरेमा तेस्रो वर्षको भिसा पाउने व्यवस्था छ ।

नयाँ बलट प्रणालीअन्तर्गत दोस्रो वर्षको भिसाका लागि ४५ हजार र तेस्रो वर्षका लागि ५ हजार योग्य आवेदक छनोट गरिनेछ । सरकारका अनुसार सन् २०२५–२६ मा ५७ हजार जना दोस्रो वर्षको वर्किङ होलिडे भिसाका लागि योग्य भएका थिए भने ३१ हजार जना तेस्रो वर्षका लागि योग्य भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)