तिमी बदलियौ कि समयले हामीलाई बदल्यो र ?
सधैँ शुभप्रभातबाट सुरु हुने दिनचर्या
आजभोलि शुभरात्रि मै टुङ्गिन थालेको छ
कहिल्यै नसकिने कुराका ती लामा संवाद,
आजकल सामान्य शब्दमै सीमित हुन थालेका छन्
मनका हजारौँ भावनाहरू अझै अधुरा छन्
ओठसम्म आइपुग्दा पनि शब्द बन्न सकेका छैनन्
बिहानीको पहिलो किरणदेखि साँझको अन्तिम पहरसम्म,
तिम्रै एउटा सन्देशको प्रतीक्षामा छन् यी आँखाहरू।
तिमीलाई आजभोलि समय छैन सायद,
तिम्रा हरेक शब्दमा एउटै कुरा दोहोरिन्छ
“व्यस्त छु।”
तर तिमीलाई के थाहा,
तिम्रो यही एउटा शब्दले
मेरो मनमा कति अनुत्तरित प्रश्नहरू जन्माउँछ !
खै …किन हो,
तिम्रै लागि यो मन यति भारी हुन्छ
तिम्रै सम्झनामा आँखाहरू रसाउँछन्,
र हरेक पल यो बेचैन मनले
तिमीलाई नै खोजिरहन्छ
आफूलाई भन्दा बढी माया सुम्पिएँ तिमीलाई,
आफ्ना खुसीभन्दा माथि राखेँ तिम्रा रहरहरू
तिम्रो एउटा मुस्कानमा संसार भेटेँ,
तिम्रो सानो बेवास्तामा भने
आफ्नै संसार उजाडिएको महसुस गरेँ।
तर
आजभोलि खै..! किन यस्तो लाग्छ
तिमी उही भएर पनि उही छैनौ
तिम्रा शब्दहरू त ,उस्तै छन्
तर तिनमा पहिलेको आत्मीयता भेटिँदैन
सम्बन्ध त , उही छ हाम्रो
तर किन हो,
पहिलेको न्यानोपन महसुस हुँदैन
सायद…
परिस्थितिले मनस्थिति बदल्यो होल
सायद …
जिम्मेवारीले समय खोस्यो होला
वा सायद,
समयसँगै प्राथमिकताहरू फेरिए होलान
र तिम्रो संसारमा मेरो स्थान
बिस्तार…विस्तारै …
कतै पछाडि छुट्दै गयो होला।
म त आज पनि उही छु उस्तै छु
तिम्रो एउटा सन्देशमा दिनभरि मुस्कुराउने
तिम्रो एउटा मौनतामा रातभरि सोचिरहने
तिमीले सामान्य ठानेका शब्दहरूमा
आफ्नो संसार खोजिरहने मान्छे,
तर अब बुझ्दै छु
माया गर्दैमा हरेक चाहना पूरा हुँदैन रहेछ
मनदेखि चाहँदैमा
हरेक सम्बन्ध उस्तै रहँदैन रहेछ
कसैलाई आफ्नो सम्पूर्ण संसार सुम्पिए पनि
उसको संसारमा आफ्नो स्थान
सधैँ उस्तै रहन्छ भन्ने हुँदैन रहेछ…!
तैपनि, तिमीप्रतिको माया
आजसम्म कुनै गुनासो बनेको छैन
तिम्रो व्यस्ततासँग रिसाउन खोज्दा पनि
तिम्रै थकानको चिन्ता लाग्छ
तिमीसँग टाढिन खोज्दा पनि
मनले तिम्रै नजिक आउने बाटो रोज्छ
मलाई त केवल यति चाहिएको थियो
तिम्रो व्यस्त दिनको एउटा सानो हिस्स
तिम्रा हजारौँ कुराबीच मेरो नामको एउटा पल
र तिम्रो लामो दिनको अन्त्यमा
मेरो सम्झनाले पाउने एउटा सानो स्थान … !
किनकि ,
प्रेम भनेको
दिनभरि कुरा गरिरहनु मात्र होइन
तर व्यस्तताबीच पनि
कसैलाई सम्झनु हो
समय नहुँदा पनि
उसका लागि केही पल जोगाउनु हो।
आज पनि बिहान हुन्छ
म तिम्रो शुभप्रभात को आशामा ब्युँझिन्छु
दिन बित्छ, साँझ ढल्छ, रात पर्छ,
अनि तिम्रो शुभरात्रि सँगै
फेरि एउटा दिन प्रतीक्षामै सकिन्छ।
थाहा छैन,
भोलि तिमी फेरि पहिलेझैँ हुन्छौ कि हुँदैनौ,
हाम्रो संवादमा पुरानो
आत्मीयता फर्किन्छ कि फर्किँदैन
तर यति भने पक्का छ
तिमीलाई माया गरेको मेरो मनले
तिमी बदलिएको महसुस गरे पनि
तिम्रो खुसीको कामना गर्न छोडेको छैन
सायद प्रेमको सबैभन्दा मौन पीडा यही हो…!
मनले कसैलाई गुमाइसकेको पनि हुँदैन,
तर पहिलेझैँ पाइसकेको अनुभूति पनि हुँदैन
सम्बन्ध बाँकी नै हुन्छ,
माया बाँकी नै हुन्छ,
तर बीचमा कतै
एउटा नदेखिने दूरी बढ्दै जान्छ
अनि मान्छे मुस्कुराइरहन्छ बाहिर,
भित्र भने हरेक दिन एउटै प्रश्न दोहोरिन्छ
“तिमी साँच्चै व्यस्त भएका हौ,
कि अब तिम्रो व्यस्ततामा
मेरो लागि ठाउँ नै बाँकी छैन…?
-सुभद्रा भट्टराई
पूर्व प्राज्ञ
