मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ७२ घण्टामा २ सय १० शैयाको क्वारेनटाइन र ३५ शैयाको आइसोलेसन निर्माण गरिने


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ९, २०७६
  • 2.4K
    SHARES

रसुवा, ९ चैत

रसुवामा ७२ घण्टामा २ सय १० शैयाको मानव आश्रय कक्ष निर्माण गरिने भएको छ । कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीहरुको निगरानी तथा उपचार व्यवस्थापनका लागि जिल्ला बिभिन्न स्थानमा २ सय १० शैयाको मानव आश्रय कक्ष निर्माण गरिने भएको हो ।

बिश्वव्यापि संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकले ७२ घण्टामा जिल्लामा २ सय १० शैयाको मानव आश्रय कक्ष निर्माण गर्ने निर्णय गरेको हो ।
जिल्लाको बिभिन्न ८ स्थानमा उक्त कक्ष निर्माण गरिने जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

चीनसँगको सिमाना रसुवागढी क्षेत्रमा रहेका होटल तथा लज भाडामा लिई ३० शैया, स्याफ्रुवेशीमा रहेको कोमिन श्याङफेल मा.वि.मा १५ शैया, सदरमुकाम धुन्चे बजार क्षेत्रमा रहेको कृषि ज्ञान केन्द्र र पशु विज्ञ तथा भेटेनरी अस्पतालमा ५० शैया, जिल्लाको कालिका गाउँपालिकाको कालिकास्थान स्थित कालिका हिमालय कलेजमा ५० शैया, आमाछोदिङ्मो गाउँपालिका थाम्वुचेत स्थित सरस्वती नि.मा.वि.मा १५ शैया, नौकुण्ड गाउँपालिकाको पारच्र्याङ स्थित गाउँपालिकाको भवनमा १५ शैया , उत्तरगया गाउँपालिका डाडाँगाउँ स्थित डाडाँगाउँ मा.वि. मा १५ शैया, र बेत्रावती स्थित सहकारी भवनमा २० शैयाको मानव आश्रय कक्ष निर्माण गरिने भएको हो ।

कोरोनाको संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउनका लागि मानव आश्रय कक्ष निर्माण गरिने भण्डारीले बताए ।
त्यसैगरि जिल्लामा ३५ शैयाको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । सदरमुकाम धुन्चेमा रहेको महिला विकास भवनमा २० शैया र जिबजिबे ग्रामिण अस्पतालमा १५ शैयाको आइसोलेसन कक्ष निर्माण गरिने निर्णय भएको छ ।

अहिले रसुवा अस्पताल धुन्चेमा ४ शैयाको र जिबजिबे ग्रामिण अस्पतालमा ५ शैयाको आइसोलेसन कक्ष संचालनमा रहेको छ ।
त्यसै गरि जिल्ला भित्र आवागमन हुने सवारी साधन तथा मानिसहरुको आवत जावतलाई ध्यानमा राखी जिल्लाको १० स्थानमा हेल्थ स्किृनिङका लागि ज्वरो नाप्ने उपकरण र प्राविधिक जनशक्तिसहित स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने निर्णय गरिएको छ ।

उत्तरगया गाउँपालिकाको बेत्रावती बजार र मैलुङ, कालिका गाउँपालिकाको कालिकास्थान, नौकुण्ड गाउँपालिकाको पारच्र्याङ र सरमथली, गोसाईकुण्ड गाउँपालिकाको धुन्चे, स्याफ्रुवेशी र रसुवागढी र आमाछोदिङमो गाउँपालिकाको चिलिमे, गत्लाङ मा सहायता कक्ष स्थापना गरिने भएको छ ।

जिल्लास्थित सुरक्षा निकायहरुमा आवश्यक परेको बेला तत्काल परिचालन हुने गरी ९५ जनाको सि आर टि टिम तयारी अवस्थामा राखिने निर्णय भएको छ । भने जिल्ला र गाउँपालिका स्तरमा कोभिड १९ सम्बन्धि उच्च स्तरीय व्यवस्थापन टास्क फोर्स गठन गरिने भएको छ ।
जिल्ला बाहिर रहेका रसुवा जिल्लामा आउन चाहने स्थानीयवासीलाई यथाशक्य चाँडो जिल्लाभित्र आउन सार्वजनिक आह्वान गरिएको छ । जिल्ला भित्रिएकाहरुलाई Self-quarantine declaration form भरी १४ दिन स्व क्वारेन्टाइनमा रहने व्यवस्था गर्ने निर्णय गरिएको छ ।
त्यसैगरि पदयात्रा तथा भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि रसुवा प्रवेशमा रोक लगाइएको छ । कोभिड १९ सम्बन्धी कार्यमा संलग्न जनशक्ति स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरुलाई एक दिने अभिमुखीकरण संचालन गरिने भएको छ ।
जिल्ला र स्थानीय तहका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारीलाई अत्यावश्यक काममा बाहेक बिदा वा काजमा नछाड्न निर्देशन दिइएको छ ।

जिल्लास्तरमा जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र र गाँउपालिकास्तरमा स्वास्थ्य शाखालाई कोभिड १९ रोकथाम तथा नियन्त्रण सूचना केन्द्र तोकिने भएको छ । सूचना केन्द्र २४ सै घण्टा सञ्चालन हुने बताइएको छ ।

जनमानसमा जनचेतना जगाउनका लागि प्रत्येक वडा कार्यालयबाट टोलटोलमा जानकारीमूलक माइकिङ गर्ने, जानकारीमूलक शैक्षिक सामग्री वितरण गर्ने, सञ्चार माध्यमबाट प्रचारप्रसार गरिने भएको छ ।
सार्वजनिक कार्यालयहरु र निजी तथा सामुदायिक कार्यालयर संस्थाहरुमा स्यानेटाइजर वा साबुनपानीले हात धुन प्रोत्साहन गरिने भएको छ ।

त्यस्तै अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न सर्वसाधारणमा सार्वजनिक आह्वान समेत गरिएको छ । सार्वजनिक यातायातका सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु ओसारपसार नगराउने अनुरोध समेत गरिएको छ ।
त्यसैगरि जिल्लाको ५ वटा गाउँपालिकाबाट १५÷१५ लाखका दरले ७५ लाखको कोभिड(१९ नियन्त्रण र रोकथामका लागि आकस्मिक कोष स्थापना गरिने भएको छ ।

स्थानीयस्तरका सबै स्वास्थ्य चौकीरसंस्थाहरूमा थर्मोमिटर, मास्क, ग्लोप र पिपिईका अत्यावश्यकिय सामानको व्यवस्था गरिने भएको छ । जिल्लाभरि रहेका एम्बुलेन्सहरूलाई आवश्यक परेको बेला प्रयोग हुन सक्ने गरी तयारी अवस्थामा राखिने भएको छ ।

त्यस्तै दैनिक परिस्थितिको संकटासन्न अवस्थाको विश्लेषणका आधारमा अति उच्च जोखिम अवस्थामा रसुवा जिल्ला वा भित्रका छुट्याइएका विभिन्न ब्लकहरु वा बजार केन्द्रलाई आधार मानी मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय भएको छ ।

सबै स्थानीय तह वडाहरुको नेतृत्वमा जिल्लाका मूख्य वजार स्थलहरुमा वजार अनुगमन गरी वजारमा रहेको दैनिक उपभोग्य खाधान्न सामग्रीको मौज्दात, दैनिक सामग्रीको खपत र स्थिर अवस्थामा पुग्न सक्ने न्यूनतम अवधि खुल्ने गरी विवरण संकलन गर्ने र बजारलाई नियमित निगरानी गरिने भएको छ ।

त्यस्तै जिल्लामा रहेका हेल्थ डेस्क, क्वारेन्टाइन कक्ष, आइसोलेसन कक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनशक्ति प्रयोगका लागि पिपिइ सेट, सरसफाइ तथा Disinfection सम्बन्धी आवश्यक सामग्रीहरु संघ र प्रदेश सरकारबाट माग गर्ने निर्णय भएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस मुक्त जिल्ला बनाउनका लागि ३५ बुदे निर्णय गरेको छ । उक्त निर्णयहरु तिन दिनभित्रमा कार्यान्वयन हुने समेत जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)