३ पुस, काठमाडौं । पाककलासम्बन्धी प्रतियोगिता ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ बाट सन्तोष साह बाहिरिएका छन् । बिहिबार राति प्रसारण भएको ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेसंगै सन्तोष उपाधिको उत्कृष्ट तीनमा समेटिएका हुन्।
३२ जना प्रतियोगी सहभागी रहेको यस प्रतियोगिताको ग्राण्ड फिनालेसम्म पुग्नुलाई नै सन्तोषको उपलब्धि मानिएको छ । यो उपलब्धि हात पार्ने उनी पहिलो नेपाली पनि हुन् । ग्राण्ड फिनालेमा पुगेका सन्तोषले प्रतियोगिताभर नेपाली खाना बनाएर निर्णायकहरुको मन जितेका थिए । उनले नेपाली खानालाई प्रतिनिधत्व गर्दै खिर,पुरी , यमोरीलगायतका हिमाल, पहाड र तराई सबैको खाना बनाएर निर्णायकहरुलाई पस्किएका थिए ।
खानाका साथसाथै उनले नेपाली भेषभूषालाई पनि विश्वसामु चिनाउने प्रयास गरेका थिए । उनले प्रतियोगितामा नेपालीलाई चिनाउने ढाका टोपी र भादगाउँले टोपी पनि लगाएका थिए । बिहीबारको ग्राण्ड फिनालेमा सन्तोष ढाका टोपीमा सजिएका थिए । उनीबारे तयार पारिएको सामग्रीमा उनले नेपालको राष्ट्रिय झण्डासमेत प्रदर्शन गरेका थिए ।
