२१ पुस , काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रुपमा कोभिड १९ को परीक्षण नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कोरोना पुष्टि भएका तर लक्षण वा चिन्ह नदेखिएका व्यक्तिहरुमा १० दिनपछि बिना परीक्षण जनस्वास्थ्यका मापदण्ड अपनाइ दैनिक जीवनमा फर्किन सकिने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय व्यक्तिहरुमा कोरोना पुष्टि भएर स्वास्थ्य अवस्था बिग्रिँदा पनि स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने तथा अस्पताल पुग्न ढिलाइ गर्दा जोखिम बढेको बताउनुभयो।
मन्त्रालयको सूचनामा कतिपय व्यक्ति आइसोलेसन सेन्टर वा अस्पतालमा लामो समय भर्ना हुने र नेगेटिभ नआउञ्जेल पटक-पटक परीक्षण गरिरहने र डिस्चार्ज हुन नमान्दा स्रोतसाधनको दुरुपयोग हुँदा सम्बन्धित व्यक्तिहरुमा मानसिक तनावसमेत बढ्न सक्ने विज्ञप्तीमा उल्लेख छ ।
प्रवक्ता डा. गौतमले सबैले कोभिड परीक्षण निर्देशिका अनुसार मात्रै परीक्षण गर्न र संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको सम्पर्कमा रहन सूचना मार्फत् आग्रह गर्नुभएको छ।

