२२ पुस, काठमाडौं । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले परिचालन गरेको अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीलाई छानविनका लागि चीनले स्विकृति नदिने भएको छ।
१० सदस्यीय छानविन समितिका दुई जनाले यसअघि नै यात्रा सुरु गरेपनि उनीहरुलाई चीनमा प्रवेशको स्विकृति नमिलेको समाचार सार्वजनिक भएको डब्ल्युएचओका महानिर्देशक टेडरोस अधानोम गिब्रियसअसले यसबारे मंगलबार जानकारी दिनुभएको छ।
‘चिनियाँ अधिकारीहरुले टिमको चीन आगमनका लागि आवश्यक स्विकृतिको टुंगो अझै नलगाइसकेको जानकारी हामीलाई प्राप्त भएको छ,’ उहाँले भन्नुभयो।
डब्ल्युएचओ, चीन र ट्रान्जिटमा पर्ने देशहरुले यसअघि संयोजनका लागि सहकार्य गरेको पनि उहाँले बताउनुभयो
। ‘म वरिष्ठ चिनियाँ अधिकारीहरुसँग सम्पर्कमा छु र एकपटक फेरि यो स्पष्ट पारेको छु कि डब्ल्युएचओ र अन्तर्राष्ट्रिय टोलीका लागि यो भ्रमण महत्वपूर्ण छ । मलाई यो आश्वस्त पारिएको छ कि चीनले सुरुवातमा परिचालित भएका छानविनकर्ताहरुका लागि आन्तरिक प्रक्रिया सहज बनाउँदैछ,’ उहाँले भन्नुभयो।
यात्रा सुरु गरेका दुईमध्ये एकजना छानविनकर्ता अनुमति नपाएपछि फर्किइसकेका छन् भने अर्का छानविनकर्ता तेस्रो देशमा छन्,’ डब्ल्युएचओका इमर्जेन्सीज चिफ माइक रायनले भन्नुभयो,‘मलाई लाग्छ यो केवल लजिस्टिक र प्रशासनिक मुदा हो, जसलाई निकै चाडैं समाधान गर्न सकिन्छ ।’
डब्ल्युएचओका जनावर रोग विशेषज्ञ पिटर बेन इम्बारेकको नेतृत्वमा गएको टोलीले उहानको भ्रमण गर्ने अपेक्षा गरिएको छ, उहानमा सन् २०१९ मा कोरोना भाइरसको पहिलो बिरामी पत्ता लगाएका थिए । भाइरसको फैलावट कहाँबाट सुरु भयो भनेर पत्ता लगाउनका लागि अनुसन्धान टोलीले त्यहाँ छानविन गर्दैछ ।
