६ माघ, वासिङ्टन । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिनुभएको छ । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्न दुई दिन बाँकी हुँदा मात्रै उहाँले सोमबार सिनेटर पदबाट राजीनामा दिनुभएको हो । “मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,” उहाँले ट्वीटरमा लेख्नुभएको छ।
अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्ने छ । सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उहाँले बताउनुभएको छ।
अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०–५० जना सदस्य रहेका छन् । ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
