७ माघ, नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । बितेको २४ घण्टामा भारतमा १३ हजार ८२३ नयाँ सङ्क्रमित फेला परेसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ९५ हजार ६६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार ७१८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ४५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ९७ हजार २०१ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २३१ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७६४ को मृत्यु भइसकेको छ ।
