सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अपडेट : भारतको हिमपहिरोमा परि मृत्यु हुनेको संख्या १८ पुग्यो


  • माउन्टेन खबर
  • सोमवार, माघ २६, २०७७
  • 867
    SHARES

२६ माघ, चमौली । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० भन्दा बढी मानिस हराइरहेको बताए का छन्।

बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाई छ । “यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,” मुख्यमन्त्री रावतले भने ।

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए । उनले भने, “झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।”

धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् । सामाजिक सञ्जालमा धेरै व्यक्तिले घटनाको प्रत्यक्ष भिडियोहरु पोस्ट गरेका छन् । साँघुरो उपत्यकाबाट तिब्र गतिमा पानी तलतिर बगेका भयानक दृश्यहरु देखिएका छन् ।

विद्युतगृहको सुरुङ (टनेल) भित्र कार्यरत एक जना २८ वर्षीय मजदुर राजेश कुमारले बाढी आउँदा आफूहरु सुरुङको ३०० मिटर भित्र रहेको बताउँदै एकाएक बाहिर निस्कन सबैलाई चेतावनी दिइएको स्मरण गरे । “हामी सबै दौडियौं तर पानी जोडले भित्र पस्न थाल्यो । यो कुनै हलिउडको चलचित्रको जस्तै दृश्य थियो । हामीलाई बाहिर निस्कन सकौंला भन्ने लागेकै थिएन ।”

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)