गुणराज लुइटेल , भर्जिनिया । अमेरिकामा समाजसेवी अन्जु शर्मा कार्की र राजु कार्कीले नीको फाउन्डेसन नामक गैर सरकारी संस्थाको स्थापना गरी पिछडिएका नेपाली बालबालिकाको लागि सेवा शुरू गर्नु भएको छ ।
नीको फाउन्डेसनकी अध्यक्ष अन्जु कार्कीले एक प्रेस बक्तब्य जारी गर्दै यस गैर नाफामुखी संस्थाका गतिविधिहरु नेपालमा शुरू गर्नको लागि आफूहरुले दान स्वरुप एक लाख डलर प्रदान गरेको जानकारी गराउनु भएको छ ।
अमेरिकामा मुख्य कार्यालय रहेको निको फाउन्डेसन अमेरिकाकी कर विभाग आइआरएसमा 501c (3) अन्तर्गत नाफारहित संस्थाको रुपमा काम गर्ने गरी सन २०१९ मा दर्ता भएको जनाइएको छ ।
नीको फाउन्डेसनटको प्राथमिक उद्देश्य विपन्न र आर्थिक रूपमा असक्षम भएका नेपाली बालबालिकाहरूलाई सहयोग प्रदान गर्ने बताउंदै अध्यक्ष शर्माले यस संस्थाको सहयोगी कदमले असहाय बनेर, पछौटेपनबाट ग्रसित ती पीडित बालबालिकाहरुलाई आफ्नो सपना प्राप्त गर्न पूलको रूपमा काम गर्ने आशा ब्यक्त गर्नु भएको छ।
कार्की दम्पत्तीले यस अभियानमा सहयोग गर्न समुदायबाट पनि पूर्ण सहयोग र समर्थन रहने अपेक्षा गर्नु भएकोछ ।
उहांहरुले निको फाउन्डेसनको अभियानलाई प्रत्यक्ष रुपमा दान गरेर, नेपाल वा अमेरिकामा स्वयंसेवक बनेर, कोष जुटाउने काम गरेर, नीको अभियानमा साझेदारी गरेर वा यसको अभियन्ता वा सल्लाहकार बनेर सहयोग गर्न अपील पनि गर्नु भएको छ ।
नीको फाउन्डेसनलाई चन्दा दिन चाहनुहुनेहरुले http://neeko.care/donate-now/ मा भ्रमण गर्न अनुरोध पनि गरिएको छ।
नीको फाउन्डेसनकी अध्यक्ष अन्जु सन २००० मा १९ वर्षको उमेरमा विद्यार्थीको रुपमा अमेरिका आएर विभिन्न संघर्ष गर्दै अमेरिकी सपना हासिल गर्ने एक सफल महिला हुनुहुन्छ ।
एक सफल लेखापरीक्षकको डिग्री र जागीर गरिसक्नु भएकी कार्कीले आफ्नो जीवनका दु:खलाई सम्झेर नेपालमा हरेक राम्रा अवसरबाट पिछडिएका बालबालिकालाई सहयोग पुर्याउन थप प्रयासहरु गर्दै जाने प्रतिबद्धता जनाउनु भएको छ ।
