काठमाडौं,७ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली तथा हिन्द महासागरका टापु मुलुकहरुबीच कोभिड विरुद्ध मात्र नभएर जलवायु परिवर्तन, गरिबीविरुद्ध सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सार्कका आठ सदस्य मुलुक तथा सेसेल्स र मोरिससका स्वास्थ्य सचिवहरुको बैठकका सन्दर्भमा जारी भिडियो सन्देशमा मोदीले अवको एशियाली शताब्दीका लागि पनि दक्षिण एशिया र हिन्द महासागरीय टापु मुलुकबीच क्षेत्रीय सहकार्य हुनुपर्ने बताएका हुन् ।
मोदीले यो क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आपतकालिन अवस्थामा विशेष भिसा स्किम लागू गर्नुपर्ने तथा यी क्षेत्रीय हवाई सेवा सम्झौताको प्रस्ताव समेत गरेका छन् । ‘हामीले कोभिड १९ शुरुभए देखि नै समन्वयात्मक रुपमा काम गर्यौं । कोभिड १९ आपतकालिन कोष निर्माण गर्यौं, साधनश्रोत र ज्ञान तथा अनुभव बाँड्यौं’ मोदीले भनेका छन्, ‘अब खोपको दुर्त परिचालन गर्नुपर्ने आवश्यकता छ । यसका लागि पनि विगतमा झैं आपसी समन्वय अपरिहार्य छ ।’
क्षेत्रीय सहकार्यका कारण यो क्षेत्रले कोभिड महामारीमा विश्वकै कम मृत्युदर कायम गर्न सफल भएको पनि मोदीको भनाइ थियो । मोदीले भविष्यमा कोभिडजस्तै अन्य महामारी रोकथाम तथा नियन्त्रणका लागि पनि क्षेत्रीय सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
‘हाम्रो क्षेत्रमा जलवायु परिवर्तन, गरिबी जस्ता साझा चुनौति छन् । यो क्षेत्रमा शताब्दिऔंदेखिको संस्कृति तथा जनतामा आधारित सम्बन्ध थप प्रगाढ बनाउने कार्यले कोभिडमात्र होइन, भविष्यमा आइपर्ने अन्य चुनौतिहरु पनि सामना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ’ भारतीय प्रधानमन्त्रीले भने ।
उनले अबको युग एशियाको भएको तर क्षेत्रीय सहकार्य विना एशियाली शताब्दी सफल नहुने पनि बताए । ‘यसका लागि हामीबीच विगतमाझैं एक्यवद्धता आवश्यक छ’ मोदीले भनेका छन् । स्वास्थ्य सचिवस्तरीय बैठकमा सार्कका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मालदिभ्स, भूटान र अफगानिस्तान तथा तटीय मुलुक मोरिसस र सेसेल्स थिए । नयाँ पत्रिकाबाट
