सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गल्वान झडपमा चार चिनियाँ सैनिकको मृत्यु भएको खुलासा


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ७, २०७७
  • 464
    SHARES

७ फागुन, काठमाडौं । गत वर्षको जुनमा भारत र चीनका सैनिकबीच गल्वानमा भएको झडपमा परी ४ जना चिनियाँ सैनिकको मृत्यु भएको खुलेको छ।

चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको हो।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चेन होङजुन, चेन सियाङरोङ, सिआओ सियुआन र वाङ चौरानले सहमतिलाई तोडेर सीमा अतिक्रमण गरेका विदेशी सेनासँगको झडपमा ज्यान गुमाएकाले मरणोपरान्त सम्मान गरिएको जनाएका छन्।

गत जुनमा गल्वान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा चिनियाँ पक्षतिर पनि हताहती भएको हुनसक्ने आशंका गरिएको थियो तर बेइजिङले औपचारिक जानकारी दिएको थिएन।

त्यसपछि दुबै देशले सीमामा तनाव मत्थर पार्न प्रयास गरेका थिए। त्यसका बाबजुद् पनि गत जनवरीमा दुई देशका सेनाबीच सामान्य झडप हुँदा दुबै पक्षका २४ जना घाइते भएका थिए।

पछिल्लो समय सहमतिमा पुगेपछि भारत र चीनले लद्दाखको पान्गोङ त्सो क्षेत्रबाट सेना र ट्यांकलगायत अन्य सैनिक उपकरणहरू फिर्ता गरिरहेका छन्।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो।

सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)