काठमाडौँ, १६ चैत । सर्वेन्द्र खनाल । नेपाल प्रहरीका पूर्व महानिरीक्षक । आज दशरथ रङ्गशालामा भएको थ्री नेसन्स कप फुटबलको उपाधि जित्नुमा खनालको महत्वपूर्ण हात रहेको छ ।
खनाल विस २०७२ मा महानगरीय अपराध महाशाखाको प्रमुख भएको बेलामा उनले ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेर म्याच फिक्सिङ गर्ने खेलाडी तथा प्रशिक्षकलाई कारबाही गरेका कारण आज नेपाली फुटवल क्षेत्रले नयाँ उचाई हाँसिल गर्न सफल भएको हो ।
नेपाल, बङ्गलादेश र किर्गिस्थानको थ्री नेसन्स खेलको आज फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले हराएर उपाधी जित्न सफल भएको हो ।
उनै खनाल नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को हैसियतमा अपराध महाशाखामा रहेको बेला विस २०७२ असोज २७ गते तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ गरेको स्विकार समेत गरेका थिए ।
नेपाली फुटबलमा खनालको नेतृत्वमा भएको अनुसन्धानसँगै नेपाली फुटबल क्षेत्र ट्याकमा आएको नेपाली फुटबलप्रेमीले बताएका थिए । खनालको नेतृत्वमा भएको अनुसन्धानमा सन् २००८ देखि नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरुमा पैसा लिएर हारेको पुष्टि भएको थियो ।
खनाललाई महानगरीय अपराध महाशाखाको प्रमुख रहँदा ‘फुटबल म्याच फिक्सिङ’को क्षेत्रमा विशेष काम गरेको भन्दै ‘एसियन फुटबल कन्फिडेरेसन’ले मलेसियाको क्वालालाम्पुरमा सम्मान समेत गरेको थियो । खनाललाई एएफसीका महासचिव डाटो विन्डसोर जोनले सम्मान गरेका थिए ।
म्याच फिक्सिङ प्रकरण सार्वजनिक भएसँगै नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जित हाँसिल गरेसँगै सर्वेन्द्र खनाललाई सम्झदै आएका छन् ।
